तानसेन ।
बुटवल पावर कम्पनीको विद्युत महसुल बढाएपछि उपभोक्ताहरू आक्रोसित भएका छन्। कम्पनीले हाल प्रतियुनिट ५ रुपैयाँ ८० पैसा रकम लिँदै आएकोमा ११ रुपैयाँ बनाउने निर्णय गरेपछि उपभोक्ता आक्रोशित भएका हुन्।
कम्पनीले विद्युत नियमन आयोगमा प्रस्ताव पेश गरी प्रतियुनिट ११ रुपैयाँ विद्युत महसुल कायम गरी चैत्र १० गते काठमाडौंमा सार्वजनिक सुनुवाइ गरेपछि उपभोक्ता पाल्पा रामपुर क्षेत्रका उपभोक्ता आक्रोसित भएका हुन।
रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले स्थानीय सरकार, लाभग्राही सरोकारवालासँग कुनै किसिमको छलफल नगरी गरिएको मुल्यवृद्धि स्वीकार्य नभएको बताए।
बढाइएको मुल्य फिर्ता नलिए उपभोक्ताहरू आन्दोलनमा उत्रिने नगर प्रमुख थापाले बताए। नगरपालिकाले मात्र वडा वडामा विद्युत विस्तारका लागि करिव ६० लाख रुपैयाँको पोल खरिद गरी कम्पनीलाई सहयोग गरेको जनाएको छ।
नगरपालिकाको १० वटै वडामा बुटवल पावर कम्पनीले विद्युत वितरण गर्दै आएको छ। रामपुर नगरपालिकामा मात्र करिव ६ हजार घरपरिवारले यस कम्पनीको विद्युत उपभोग गर्दै आएका छन्।
पाल्पाको रम्भा गाउँपालिका-१ हुगी र २ फोक्सिङकोटमा पनि कम्पनीले विद्युत वितरण गर्दै आएको छ। रम्भाको दुईवटै वडामा १ हजार ६ सय घरधुरीले यसकको विद्युत प्रयोग गर्दै आएका छन्।
उपभोक्ताको ढाड सेक्ने गरी विपिसीले गरेको मुल्यवृद्धि तत्काल फिर्ता लिन रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले आग्रह गरेका छन्। कम्पनीका पाल्पा र स्याङजामा गरी करिव ३९ हजार ग्राहकहरू रहेका छन्।








