गृहपृष्ठ Featured ‘मृगौलाको डायलाइसिस गरिरहेकालाई यातायात खर्चदेखि खेलाडीलाई सम्मान गर्नेसम्मको निर्णय’

‘मृगौलाको डायलाइसिस गरिरहेकालाई यातायात खर्चदेखि खेलाडीलाई सम्मान गर्नेसम्मको निर्णय’

चेतन विष्ट ,कपिलवस्तु ।

बाणगंगा नगरपालिकाले मृगौलाको डायलाइसिस गराइरहेकालाई यातायात सेवा उपलब्ध गराउने भएको छ । नगरपालिकाको ११ औँ कार्यपालिका बैठकले नगर भित्र डायलाइसिस गराइरहेकाहरुको लागि यातायात खर्च बापत २ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

सोही बैठकले आर्थिक वर्ष ०७९/८० मा सम्पन्न हुने योजनाको समिक्षा गरेको छ । जसअनुसार उपभोक्ताबाट सम्पन्न हुने ३४३ वटा योजनामध्ये १२१ वटा योजनाहरु सम्पन्न भएर निकासा पनि भएको जनाइएको छ भने ठेक्कामार्फत सम्पन्न हुने ६१ वटा योजना मध्ये २ वटा योजना सम्पन्न भएको र अन्य योजनाहरु संचालनमा रहेको प्रवक्ता पौडेलले बताए ।

वडा नम्बर ६ र ७ मा गरि दुई वटा खोप केन्द्र निर्माण गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । जसको लागि ७/७ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

प्रवक्ता पौडेलका अनुसार कार्यापालिका बैठकले अन्तराष्ट्रिय अन्डर १९ क्रिकेटमा सामेल रहेका बाणगंगा- ५ का दुर्गेश गुप्ता, अन्तराष्ट्रिय म्याराथुन धावक वडा नम्बर ९ का अजय पाण्डे र अन्तराष्ट्रिय क्रिकेट खेलाडीहरुको थेरापिष्ट वडा नम्बर ८ का विक्रम न्योपानेलाई सम्मान गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाणगंगामा ७ सय जनाले आवेदन दिएको र त्यसको स्वकृतका लागि प्रदेश सरकारमा पठाउने निर्णय बैठकले गरेको छ ।

बैठकले बाल क्लब गठन गर्ने निर्देशिका संशोधन गर्ने निर्णय पनि गरेको छ । बैठकमा लेखा परिक्षण प्रतिवेदन विषयमा लेखा अधिकृत केशवराज गैरेले जानकारी गराएका थिए ।

सम्बन्धित् समाचार