गृहपृष्ठ Featured घोराहीमा गुणस्तरहीन सडक बनेको आशंका, कालोपत्रेको काम ठप्प

घोराहीमा गुणस्तरहीन सडक बनेको आशंका, कालोपत्रेको काम ठप्प

दाङ ।

ठेकेदारले गुणस्तरीय सडक नबनाएको आशंकामा दाङको घोराही उपमहानगरपालिकाले भानुचोकदेखि-गुलरिया पार्कसम्मको सडकको कालोपत्रे गर्ने काम रोकिदिएको छ ।

सडकको लेबल र गिट्टीहरूको आकार नमिलेको पाइएपछि घोराही उपमहानगरपालिकाले सडकको कालोपत्रे गर्न रोक लगाएको हो ।

‘सडक कालोपत्रे गरेपछि लेवलिङ मिल्नुपर्छ, चिल्लो देखिनुपर्छ । तर त्यस्तो नदेखिएपछि परीक्षणका लागि भनेर निर्माणको काम रोक्न लगाएका छौं’ घोराही उपमहानगरपालिकाको पूर्वाधार महाशाखा प्रमुख इञ्जियिनर युवराज पौडेलले भने ।

१८ सय मिटर लामो सडकमा गर्न लागिएको कालोपत्रे अस्फाल प्रविधिको हो । सोही प्रविधिमा कालोपत्रे गरिएको घोराहीकै दामोदरचोकदेखि नयाँ बजार-आर्मी व्यारेकसम्मको सडक राम्र्रो देखिन्छ ।

एउटै प्रविधिमा बनाइएका सडक कुनै राम्रो र कुनै नराम्रो देखिएपछि स्थानीयले भानुचोकदेखि-गुलरिया पार्कसम्मको सडकको गुणस्तरमा प्रश्न उठाएका थिए । अहिले उपमहानगरले पनि शंका गरेर तीन हप्तादेखि सडक कालोपत्रेको काम रोकेको छ ।

घोराही उपमहानगरपालिका इञ्जिनियर सन्दीप घिमिरेले भानुचोकदेखि-गुलरिया पार्कसम्मको सडकको ‘थिकनेस’ नमिलेको पाइएकाले गुणस्तर परीक्षणको लागि काम भइरहेको बताए । उनले छिट्टै परीक्षण रिपोर्ट आउने र सडकमा के कस्तो काम भएको भन्नेबारे आफूहरु निष्कर्षमा पुग्ने बताए ।

सम्बन्धित् समाचार