वैखरी अनलाइन , रुपन्देही
प्राचीन राजधानी कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज तयार पार्ने कार्यलाई तीव्रता दिइएको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुको कार्यशाला गरी विश्वसम्पदा सूचीमा सूचीकृतका लागि दस्तावेज तयार पार्ने कामलाई तीव्रता दिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई विश्व सम्पदाका रुपमा चिनाउन आवश्यक रहेकाले विज्ञहरुलाई जतिसक्दो चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।
उनले कपिलबस्तु बुद्धको वंश रहेको र बुद्ध स्वयमले २९ वर्ष बिताएको ठाउँ रहेकाले तुरुन्त सम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेमा जोड दिए ।
पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले विज्ञहरुबाट मनोनयनका लागि महत्वपूर्ण सुझावहरु आएको बताउँदै सीमा क्षेत्रका बारेमा प्रदेश सरकार, स्थानीय सरकार एवम् स्थानीयहरुको समेत सहयोग आवश्यक हुने बताए ।








