उत्तरी मेक्सिकोमा अमेरिकी सीमानजिकै रहेको आप्रवासी हिरासत केन्द्रमा आगलागी हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
अमेरिकी राज्य टेक्सासको एल पासोबाट सीमापार पर्ने सिउडाड जुआरेजको आप्रवासी हिरासत केन्द्रमा सोमबार राति आगलागी भएको हो । घटनास्थलका तस्बिरहरूमा हिरासत केन्द्र धुवाँले ढाकिएको र त्यहाँ एम्बुलेन्स एवं अग्नि नियन्त्रक र शवहरू पङ्क्तिमा राखिएको देखिएको छ ।
आगलागीमा कम्तीमा ३९ जनाको मृत्यु भएको अलजजिराले लेखेको छ । मेक्सिकोको नेसनल इमिग्रेसन इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा २९ जना घाइतेलाई अस्पताल लगिएको भनिएको छ ।
उक्त हिरासत केन्द्रमा मध्य र दक्षिण अमेरिकाका ६८ वयस्क पुरुषहरू राखिएको बताइएको छ ।








