गृहपृष्ठ Featured पहिलो हाफमा भुटानलाई १-० काे अग्रता

पहिलो हाफमा भुटानलाई १-० काे अग्रता

काठमाडौं ।

प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत समूह चरणको अन्तिम खेलका्े पहिलो हाफमा नेपालले भुटानविरुद्ध गोल खाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १९औं मिनेटमा भुटानका लागि तेन्जिन नोर्बुले गोल गरे।

छेल्त्रिम नाम्गेलले १९औं मिनेटमा हानेको बल सनिश श्रेष्ठलाई लागेर कर्नरमा परिणत भएको थियो। सोही कर्नरमार्फत दावा छिरिङले प्रहार गरेको कर्नरमा ६ यार्ड बक्स अगाडि रहेका तेन्जिन नोर्बुले हेडरमार्फत गोल गरे।

त्यसअघि छैटौं मिनेटमा नेपालका अञ्जन विष्टले हानेको बल चेन्चो ग्याल्चेनलाई लागेर कर्नरमा परिणत भएको थियो। तर, नवीन लामाले प्रहार गरेको कर्नरमा नेपालले उललेख्य अवसर सिर्जना गर्न सकेन।

भुटानी कप्तान चेन्चोले ११औं मिनेटमा पेनाल्टी एरिया भित्र बल नियन्त्रण लिएर ६ यार्ड बक्स भित्र कट् इन् गर्दा अनन्त तामाङले बल खोसेर क्लियर गरेका थिए।

भुटानका निमा वाङ्दीले ३१औं मिनेटमा बायाँतर्फबाट गरेको प्रहार विकाश खवासलाई लागेर जोखिमपूर्ण बनेको थियो। तर, सतर्क रहेका कप्तान किरण चेम्जोङले पोल नजिक बल नियन्त्रणमा लिए।

अनन्त तामाङले ३५औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।

नेपालका राइट ब्याक सनिशले दायाँ फ्लान्कबाट गरेको क्रस भुटानका नाम्गेललाई लागेर बाहिरिएपछि नेपालले ४४औं मिनेटमा कर्नर पाएको थियो। नवीन लामाले प्रहार गरेको त्यो कर्नरमा अनन्तको हेडर सेकेन्ड बारमा पुजन अगाडि पुगेको थियो।

पुजनको पासमा ६ यार्ड बक्सभित्र रहेका सनिशले हेडरमार्फत गरेको प्रहार क्रसबार माथिबाट बाहिरिँदा नेपालले बराबरी गोल गर्ने सुन्दर मौका गुमाएको थियो।

सम्बन्धित् समाचार