पाल्पा ।
पाल्पाको पूर्वखोला गाउँपालिकाले ४० देखि ६९ वर्ष उमेर समूहका नागरिकको मधुमेह र उच्च रक्तचापको परीक्षण सुरु गरेको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले ४० देखि ६९ वर्ष उमेर समूहका ५ हजार १ सय २५ जनाको स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताए । उनका अनुसार स्क्रिनिङ कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणको काम सुरुवात भइसकेको बताए ।
७० वर्ष माथिका नागरिकको यसअघि नै स्क्रिनिङ गरेर सोही अनुसार औषधि व्यवस्थापन भइसकेको शाखा प्रमुख ढकालले बताए ।
गाउँपालिकाले त्यसका लागि स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम गरिसकेको छ । वडावडामा पुगेर सबैको अवस्था थाहा पाउने र सोही अनुसारको औषधि व्यवस्थापनमा गाउँपालिका जुट्ने अध्यक्ष नुनबहादुर थापाले बताए ।
पछिल्लो समय युवा अवस्थामै मधुमेह तथा उच्च रक्तचापको जोखिम बढ्न थालेको पाइएको छ । सोही अनुसार गाउँपालिकाले ४० वर्ष माथिका नागरिकको स्क्रिनिङ गर्न लागेको अध्यक्ष थापाले बताए ।








