पाल्पा ।
पाल्पाको माथागढी गाउँपालिका–५, हात्तीलुङ क्षेत्रमा गाईगोरुमा तीन सातायता ‘लम्पी स्किन डिजिज’ (छालामा हुने गिर्खे रोग) फैलिएको छ । गाईगोरुमा देखिएको ‘लम्पी स्किन’ रोगले पशु बिरामी पर्न थालेका हुन् । माथागढीकै नजिकका झडेवा, गोठादीका पशुमा पनि बिस्तारै फैलिन सक्ने भएकाले गाउँपालिकाले सचेत रहन किसानलाई आग्रह गरेको छ ।
लम्पी स्किन डिजिज फैलिए पनि अझैसम्म गाईगोरु मरिनसकेको माथागढी पशु विकास शाखाका विनय यादवले बताए । उनका अनुसार किसानले पालेका हात्तीलुङ क्षेत्रका धेरै पशु बिरामी परेका छन् । यहाँ फैलिएको लम्पी अन्यत्र सर्न नपाओस् भनेर भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केद्रको सहयोगमा नियन्त्रणका लागि उपचार सुरु गरेको छ ।
विज्ञ केन्द्रका चिकित्सक डा. नवीन बस्यालका अनुसार यसको ठोस उपचार नभएको र यसकै लागि भ्याक्सिन नभएकाले उस्तै प्रकृतिको रोगमा गरिने उपचार गरिएको हो । सुरुमा किसानले रोगको पहिचान समेत गर्न सकेका थिएनन् । स्थानीयका अनुसार सुरुमा एउटा टोलमा देखिएको थियो । बिस्तारै अन्यत्र पनि फैलिएको हो ।
रोग सर्ने बारेमा किसान अनभिज्ञ भएकाले पनि यस रोग फैलिएको हुन सक्ने पशु सेवा प्राविधिक युवराज ज्ञवालीले बताए ।







