बुटवल ।
लुम्बिनी प्रदेशसभामा बिजनेस नभएपछि प्रदेशसभा सदस्य कामविहीन भएका छन् ।
पुस १७ गते शपथग्रहण गरेका सदस्यले चैत २० गतेसम्ममा ७ बैठक बसेका छन् । ती बैठकले कुनै पनि विधेयकमाथि छलफल गर्न पाएका छैनन् । बसेका बैठकमा पनि प्रदेशसभा सदस्यले राजनीतिक आरोप-प्रत्यारोप र उपलब्धिविहिन गनगनमै बिताउने गरेका छन् ।
प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बसेको थियो । त्यो बैठकमा प्रदेशसभाका सभामुखका रूपमा ज्येष्ठ सदस्य डिल्लीराज भुसाललाई चयन गर्दै ३१ मिनेटमै सकिएको थियो । त्यही दिन ५० मिनेट बसेको दोस्रो बैठक सभाका सदस्यहरुबीच शुभकामना आदानप्रदानमै सकिएको थियो ।
माघ ३ गते २१ मिनेट बसेको बैठकले माओवादी नेता एवं प्रदेशसभा सदस्य तुलाराम घर्तीलाई सभामुख चयन गर्यो । चौथो बैठक माघ ५ गते बसेको थियो । २ घण्टा ४ मिनेट बसेको बैठक लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई विश्वासको मत दिएर सकिएको थियो । माघ २० गते पाँचौं बैठक बसेको थियो । २ घण्टा बसेको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो ।
फागुन २० गते १ घण्टा ४ मिनेट बसेको छैंटौं बैठकमा पनि प्रदेशसभाका सदस्यहरुले विशेष समय लिएर बोलेका थिए । १ घण्टा ५६ मिनेट बसेको सोमबारको सातौं बैठक पनि विशेष समयमा समसामयिक विषयमा छलफल गर्दै सकिएको छ ।
प्रदेशसभा सदस्यले शपथग्रहण गरेपछिका तीन महिनामा बसेका सात बैठक उपलब्धिविहिन छन् । त्यो विषयमा सोमबारको विशेष समयमा प्रदेश सभासदस्यले नै बहस गरेका छन् । बैठकै नबस्ने र बसेका बैठकमा पनि विधेयक निर्माण, नीतिगत बहस र जनताका दैनिक समस्या समाधान गर्नेतर्फ केन्द्रित हुन नसकेको प्रदेशसभा सदस्यकै गुनासो थियो ।
जनमोर्चाकी प्रदेशसभा सदस्य तारा थापाले प्रदेशसभा सदस्यका तीन महिना सरकार बनाउने र गिराउने खेलमा साक्षी बस्नेबाहेक अन्य कुनै काम हुन नसकेको बताइन् । ‘जनता महँगीको मारमा छन्, किसानले मल नपाउने अवस्था छ,’ उनले भनिन्, ‘हामी सरकार बनाउने र गिराउने खेलका साक्षी भएर बसेका छौं, हामी आफ्नै जिम्मेवारीबाट चुक्दैछौं ।’ उनले यसअघिका विशेष समयमा बोलेका दाङको देउखुरी क्षेत्रका रोक्का गरिएका जग्गा फुकुवादेखि नागरिकका समस्या समाधानमा बहस मात्र भएको तर, सरकारले त्यो विषयमा जवाफ पनि नदिएको र सुनुवाई पनि नभएको बताइन् ।
जनमत पार्टीका चन्द्रकेश गुप्ताले प्रदेश सभा सदस्य कुर्चीका लागि मात्र भएको बताए । नेता, मन्त्री र कर्मचारीको उद्देश्य नै कुर्ची भएपछि जनताको सेवा प्रभावित भएको उनको भनाइ थियो । ‘हामीले जनताका काम कहिले गर्ने ?,’ उनले प्रश्न गरे, ‘सरकार बनाउने र भत्काउने खेलमा हामी छौं, कसरी कुर्ची प्राप्त हुन्छ भन्ने ध्यान छ ।’
जनप्रतिनिधि र कर्मचारी जनताको सेवाका लागि हुनुपर्ने भए पनि त्यो नहुनु नै नेपालको राजनीतिको वितृष्णा भएको उनले बताए ।








