काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्ग्सले पहिलो जित निकालेको छ । चेन्नाईले सोमबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गर्यो । एमए चिदम्बरम रंगशालामा भएको खेलमा चेन्नाईले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०५ रनमात्र बनायो ।
लखनउका काइल मयेर्सले २२ बलमा आठ चौका र दुई छ्क्कासहित ५२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । निकोलस पुरनले ३२, आयुश बडोनीले २३, मार्कुस स्टोइनिसले २१, कप्तान लोकेश राहुलले २०, कृष्णप्पा गोथमले १७ र मार्क उडले १० रन बनाए ।
चेन्नाईका मोइन अलिले चार विकेट लिए । चार ओभर बलिङ गरेका अलिले २६ रन खर्चिए । तुसर देशपान्डेले दुई र मिचेल स्यान्टनरले एक विकेट लिए ।
त्यसअघि टस हारेपछि ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१७ रनको योगफल खडा गरेको थियो ।
चेन्नाईका ओपनर रितुराज गाइकवाडले ३१ बलमा तीन चौका र चार छक्कासहित ५७ रन बनाएका थिए ।
डेवोन कोन्वेले ४७ रन बनाउँदा सिवम दुबे र अम्बती रायडुले समान २७ रन थपे । मोइन अलिले १९ र कप्तान महेन्द्र सिंह धोनीले १२ रन बनाए ।
लखनउका मार्क उड र रवि बिस्नोइले समान तीन विकेट लिए । अवेस खानले एक विकेट हात पारे ।
जितसंँ दुई खेलबाट दुई अंक जोडेको चेन्नाई तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको लखनउ तेस्रो स्थानमा छ ।








