गृहपृष्ठ Featured भियतनामसँग ५-१ ले हार्‍यो नेपाल

भियतनामसँग ५-१ ले हार्‍यो नेपाल

काठमाडौं ।

पेरिस महिला फुटबल ओलम्पिक एसियन छ्नोटको पहिलो चरणमा बुधबार भियतनामले नेपालविरुद्ध ५-१ को सहज जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामलाई जित दिलाउन कप्तान हुयन्ह न्हुले दुई गोल गर्दा पाम हाइ येन, न्युयेन थि बिच थुय र एनगुयेन थि थाना न्हाले समान एक गोल गरे । नेपालकी सावित्रा भन्डारीले एक गोल फर्काएकी थिइन् ।

खेलको ११औँ मिनेटमा पाम हाइ येनले गरेको गोलबाट भियतनामले अग्रता बनाएको थियो । ३५औँ मिनेटमा कप्तान हुयन्ह न्हुले पेनाल्टीमा गोल गर्दै भियतनामको अग्रता दोब्बर पारिन् । न्हुले नै प्रहार गरेको बल १८ यार्ड बक्समा अमृता जैसीको हातले रोकेपछि भियतनामले पेनाल्टी पाएको थियो । जसमा कप्तान न्हुले कुनै गल्ती गरिनन् ।

त्यसको तीन मिनेटपछि नै न्युयेन थि बिच थुयले गोल गर्दै भियतनामको अग्रता ३-० मा पुर्‍याइन् । थुयले १८ यार्ड बक्सभित्रबाट गरेको प्रहार अमृता जैसीबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो । पहिलो हाफमा तीन गोल गरेको भियतनामले दोस्रो हाफमा दुई गोल थप्यो ।

४८औँ मिनेटमा कप्तान न्हुले भियतनामका लागि चौथो गोल गरिन् । न्हुले होअङ थि लोनको क्रसमा हेडर गोल गरिन् ।

नेपालकी सावित्रा भन्डारीले ७९औँ मिनेटमा एक गोल फर्काइन् । सरु लिम्बुले मैदानको मध्य भागबाट निकालेको ‘थ्रु’ बललाई सावित्राले सहजै गोलमा परिणत गरिन् ।

यस्तै, इन्जुरी टाइममा एनगुयेन थि थाना न्हाले भियतनामका लागि पाचौं गोल गरेपछि पाहुना टिमले नेपालविरुद्ध ५-१ को सहज जित निश्चित गर्‍यो।

खेलमा दुवै टिमले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् । आठौँ मिनेटमा अमिषाले गोलको सुन्दर मौका खेर फालिन् । दीपाले दायाँ भागबाट गरेको क्रसमा अमिषाको प्रहार माथिल्लो बारको नजिकैबाट बाहिरियो ।

२०औँ मिनेटमा भियतनामकी पाम हाइ येनको प्रहार पोस्टमा लागेर फर्किएपछि नेपालको खतरा टरेको थियो । ३५औँ मिनेटमा अमृता जैसीले गरेको फ्रिकिकमा अमिषाले नै सदुपयोग गर्न सकिनन् ।

छनोटको पहिलो चरणमा नेपाल र भियतनाम समूह ‘सी’ मा छन् । यो समूहमा नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि थिए । तर, प्यालेस्टाइन र अफगानिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्रै दोेस्रो चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । यी दुई टिमबीचको अर्को खेल २५ गते हुनेछ ।

समूहको शीर्ष स्थानमा रहने टिम छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

सम्बन्धित् समाचार