रुकुम पूर्व ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ३ रन्मामा दुई बालिका मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बुधबार अपराह्न ४ बजे देखि हराएका एकै घरका दुई बहिनी १० वर्षीया रिणा बुढा र ८ वर्षीया काली बुढा घर नजिकै मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी अञ्जना श्रेष्ठले बताइन् ।
बुधबार बिहान सिस्नो टिप्न भनी घरबाट निस्किएका दुई बहिनी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा भोलिपल्ट बिहान करिब साढे ६ बजेतिर उनीहरू घर नजिकैको झुपा खोला भीरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटना कसरी घटेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको भन्दै डीएसपी श्रेष्ठले आफ्नो नेतृत्वमा टोली घटनास्थालमा पुगेको जानकारी गराइन् ।
उनले भनिन्, ‘हामी घटनास्थालमा पुगेका छौँ । अनुसन्धानपछि मात्रै यसबारे भन्न सकिन्छ । घटना के-कसरी घटेको हो‚ अहिले यसै भन्न सकिने अवस्था छैन ।’ घटनास्थाल जिल्ला सदरमुकामदेखि उत्तरपूर्वमा पर्दछ ।








