दाङ ।
नेकपा एकीकृत समाजवादी परित्याग गरेका नेताहरु सामूहिक रुपमै नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एसका केन्द्र, प्रदेश तथा जिल्लास्तरका नेताहरु बिहीबार एमालेमै फर्किएका हुन ।
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसी र स्वकीय सचिव गौरवसिंह महरासँगै पार्टीकी केन्द्रीय परिषद सदस्य मीना गुरुङ, नेताहरु सीता चौधरी, हिमाल अधिकारी, किसन भट्टराई एमालेमा फर्किएका छन् ।
नेकपा एमाले दाङका इञ्चार्ज तथा पोलिटव्युरो सदस्य नरुलाल चौधरी, केन्द्रीय सदस्य चेतनारायण आचार्य, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मालगायतले उनीहरुलाई एमालेमा स्वागत गरेका हुन् ।
एकीकृत समाजवादीभित्र व्यक्तिवादी अहंकारवाद, निरंकुश एवम् स्वेच्छाचारी प्रवृत्ति मौलाउँदै गएको र पार्टीको माध्यमबाट नेपाली कम्युनिष्ट आन्दोलनको शुद्धीकरण हुन नसक्ने ठहर गर्दै उनीहरुले चैत ४ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका थिए ।
एमालेमा फर्किएकाहरुलाई उचित जिम्मेवारी दिइने पार्टी सचिव मनोहर बुढाथोकीले बताए ।








