सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका गरिएको समयमा नक्कली नोट बनाउने गिरोह नै सक्रिय रहेको खुलासा भएको छ। गत तीन महिनादेखि प्रहरीले निगरानी बढाउँदा विभिन्न नौ जनालाई नियन्त्रणमा लिइएको र रुपैया बनाउने कागजको बन्डल नै बरामद भएको घटनाले नक्कली रुपैया बनाउने गिरोह सक्रिय रहेको पुष्टि भएको हो।
सर्लाहीको बलरा नगरपालिका ६ गडहिया गाउँका विवेक कुर्मीको घरमा नक्कली नोट बनाउने मेसिन नै संचालन गरी नक्कली नोट बनाउने काम भइरहेको सूचना पाएको प्रहरीले छापामारी खानतलासी गर्दा पैसा छाप्ने कागज दुई पोका बरामद भएको छ। घर धनी विवेक कुर्मी फरार भएका छन्।
नक्कली नोट बनाउने कार्यमा सहयोग गरिरहेको भनिएका अन्य चार जना पनि फरार भएका छन्। फरार पाँचै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यसअघि बलरा नपा वडा ५ अर्नाहा टोलका राम प्रसाद यादव नक्कली नेपाली रुपैया सहित पक्राउ परेका थिए। बिहिवार बेलुकी बरहथवा नगरपालिका १७ स्थित बागमती सिचाइ आयोजनाको नहरमा दुई लाख ६८ हजार नेपाली नक्कली रुपैया सहित मधेस प्रदेश जनकपुर र इप्रका बरहथवाको संयुक्त टोलीले यादवलाई चारैतिरबाट घेरा हाली पक्राउ गरेको हो।
यादवलाई चेकजाँच गर्दा लाखौ रुपैयाँ नेपाली हजारको नक्कली नोट बरामद भएको हो।








