नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा खोप लगाउन छुटेका बालबालिकालाई घरघरमा पुगेर पहिचान गरिँदैछ । १६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई खोज्न सुरु गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।
उनका अनुसार नेपालगन्ज उपमहानगरलाई वैशाखमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि कोही पनि बालबालिका खोपबाट वञ्चित नहुन् भन्ने उद्देश्यले घरदैलो अभियान र सर्वेक्षण थालिएको हो ।
घरदैलो सर्वेक्षणका क्रममा पूर्ण खोप लगाएको घरमा हरियो, आंशिक खोप लगाएको घरमा कालो र खोप नै नलगाएको घरमा रातो स्टिकर टाँसिएको छ । चैत मसान्तसम्म खोप नलगाएका बालबालिकाहरुको लिस्टिङ गरेर खोप लगाइने छ ।