लुम्बिनी ।
नेपाल ओलम्पिक कमिटीले ‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेल दिवस’ को अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा विशेष कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले यस अवसरमा आयोजित दीपावली कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रमका सभापति तथा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले त्यस अवसरमा ‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेल दिवस’ को महत्त्वबारे प्रकाश पारे । सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ लाई ‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेल दिवस’ मनाउने प्रस्ताव पारित गरेको थियो र त्यसपछि सबै देशमा यो दिन विभिन्न कार्यक्रम गरेर मनाउन थालेको हो ।
कमिटीको आयोजनामा गत वर्षदेखि यस दिन लुम्बिनीमा विभिन्न कार्यक्रम गरेर मनाउन थालेको हो । कार्यक्रम आयोजना गर्न प्रदेश खेलकुद परिषद लुम्बिनी र लुम्बिनी विकास कोषको सहयोग गरेको छ । अध्यक्ष श्रेष्ठले आगामी वर्षमा पनि लुम्बिनीमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिइने बताए ।








