गृहपृष्ठ कपिलवस्तु बिशेष तिलौराकोटको उत्खननमा भेटिएको गजुर सङ्ग्रहालयमा

तिलौराकोटको उत्खननमा भेटिएको गजुर सङ्ग्रहालयमा

वैखरी अनलाइन, तौलिहवा ।
राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र एवं प्राचीन तिलौराकोट सँगैको कन्थक स्तूपको दक्षिणतर्फ उत्खनन गर्दा भेटिएको गजुर कपिलवस्तु सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएको छ ।

कन्थक स्तूप नजिकै रहेको बिहार र पोखरीको उत्खननमा सो गजुर भेटिएको थियो । माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटर रहेको छ ।

कपिलवस्तुको उत्खननमा यस खालको वस्तु पहिलो पटक भेटिएको पुरातत्वविद् बताउँछन्। भेटिएको गजुर कुन समयमा बनेको भन्ने कुरा गजुरको परीक्षणपछि मात्र थाहा हुने बताइएको छ ।

तिलौराकोट दरबार क्षेत्रको पूर्वीद्वार नजिक कन्थक स्तूप छ। गजुर मन्दिरको माथिल्लो भागमा ठड्याउने गरिन्छ । गजुरको स्वरूप मन्दिरका देवी देवताअनुरूपको हुने गर्छ। हिन्दु मन्दिरको माथिल्लो भागमा कलश र त्यसमाथि दण्डी स्वरूपको गजुर राख्ने चलन छ भने बौद्ध स्तूप एवं बिहारको माथिल्लो भागमा प्रयोग हुने गजुरमा चाहिँ स्तूपको स्वरूप हुने गर्छ ।

विगत १२५ वर्षदेखि विभिन्न पुरातत्वविद्ले प्राचीन नगरको अन्वेषण तथा उत्खननको क्रममा प्राप्त गरेका धेरै वस्तु कपिलवस्तु सङ्ग्रहालयमा सङ्कलन गरी राखिएको छ ।

सम्बन्धित् समाचार