कपिलवस्तु।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कपिलवस्तुको प्राचीन तिलौराकोट भ्रमण गरेका छन् । तिलौराकोट राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो । लुम्बिनी हुँदै प्राचीन कपिलवस्तुमा आईपुगेका उनले बुद्धस्थल तिलौराकोट भ्रमण गरेका हुन् ।
राजदूत सोङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बुद्धस्थलको ऐतिहासिक पृष्ठभूमि, महत्त्व, ऐतिहासिक प्रमाणलगायतका विषयमा जानकारी गराएका थिए । तिलौराकोट दरबार क्षेत्रमा पैदल मार्ग हुँदै उनले तिलौराकोटमा सम्पन्न उत्खननको स्थलगत निरीक्षण गरे । उनले उत्खननका उपलब्धि र अवस्थाबारे जानकारी लिए ।
राजदूतले तिलौराकोटको मुख्य दरबार, समयमाई मन्दिर, पश्चिमी र पूर्वीद्वार, सम्पन्न भएको उत्खनन क्षेत्रको स्थलगत अवलोकन गरे । उनलेले भ्रमणको क्रममा तिलौराकोट दरबार अत्यन्तै सुन्दर ढङ्गले संरक्षण गरिनुका साथै यस स्थलमा चिनियाँ तीर्थ यात्रीलगायत सम्पूर्ण विश्वभरका आगन्तुकहरूले विश्व शान्ति समृद्धिका लागि पूजा र प्रार्थना गर्न यस स्थलको निरन्तर भ्रमण गर्ने विश्वास व्यक्त गरे ।