पाल्पा — पाल्पाका तीन दर्जन भन्दा बढी जंगलमा केही दिनयता डढेलो फैलिएको छ । निस्दी, माथागढी, तानसेन नगरपालिका, तिनाउ, रैनादेवी छहरा लगायतका स्थानीय तहका जंगलमा डढेलो फैलिएको हो ।
डढेलो नियन्त्रणमा स्थानीय उपभोक्ताको खासै चासो नदेखिएकाले जंगलमा जतासुकै डढेलो फैलिएको तिनाउ गाउँपालिका–२, का केशव थापाले बताए । निस्दीको ज्यामिरे, मित्याल, माथागढीको गोठादी, रहवास, बहादुरपुर, तिनाउको झुम्सा, दोभान, कचल, तानसेनको पिपलडाँडा, रैनादेवी छहराको जुठापौवा, सत्यवती लगायतका स्थानमा डढेलो लागेको छ । यहाँका ३६ बढी स्थानमा डढेलो फैलिएको स्थानीयले जानकारी दिए ।
बढ्दो खडेरीसँगै जिल्लाको सामुदायिक र सरकारी जंगलमा लागेको डढेलोले हजारौं हेक्टर जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको कचलका उपभोक्ता केशव भण्डारीले बताए । लामो समयसम्मको खडेरी र बढे गर्मीले उपभोक्ता निभाउन जंगल जान नसकेको उनले बताए । ‘डढेलोले जंगली जनावर, चराचुरुङ्गी तथा वन नजिकका बस्तीहरुमा जोखिम बढेको छ,’ उनले भने, ‘जंगलमा कटानी, छटानी गरेर नयाँ पालुवा हुर्काउने बेलामा भएको आगलागीले समस्या नल्याउने कुरै भए।’ छिमेकी जिल्ला रुपन्देहीतर्फबाट चुरे क्षेत्रमा बढी डढेलो आएको तिनाउ झुम्साका कृष्ण पाण्डेयले बताए ।








