गृहपृष्ठ Featured ६ सय वर्ष पुरानो इतिहास भएको बुटवलको ‘फूलबारी’

६ सय वर्ष पुरानो इतिहास भएको बुटवलको ‘फूलबारी’

बुटवल । 

बुटवलको तिनाउ पुल तर्नेबित्तिकै पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ एक सय मिटरमा छ ‘मणिमुकुन्द सेन उद्यान’।  यो उद्यान यस क्षेत्रका पार्कमध्ये सबैभन्दा धेरै पर्यटकको रोजाइमा पर्दै आएको छ।

गत आर्थिक वर्ष आन्तरिक र बाह्य गरी कम्तीमा पाँच लाख पर्यटक यहाँ आएका थिए। पहाडको काखमा हरियाली जंगलको बीचमा रहेकोले यहाँ बुटवल बजारको तुलनामा दुई डिग्री सेल्सियससम्म कम तापक्रम हुन्छ। बोटबिरूवाको हरियाली र रंगीचंगी फूलका बाटिकाहरूले त्यहाँ पुग्ने सबैलाई आकर्षित गर्छन्।

सेन वंशीय पाल्पाली राजा मणिमुकुन्द सेनको नाममा रहेको यो उद्यान पिकनिक, विवाह, भेटघाट, सामाजिक संघसंंस्थाका विभिन्न कार्यक्रमको थलो बन्दै गएको छ।

उद्यान संरक्षण समितिका अध्यक्ष खेलप्रसाद लुइँटेलका अनुसार ‘फूलबारी’ नाम राखेर २०३६ सालमा स्थापित यो पार्कलाई २०५४ सालमा ‘मणिमुकुन्द सेन उद्यान’ नाम दिएर सञ्चालन र व्यवस्थापन गरिएको छ।

अहिले पनि ‘फूलबारी’ नाम नै प्रख्यात छ।

सुरूमा १५ बिघा क्षेत्रफलमा स्थापित पार्क अहिले २५ बिघामा फैलिएको छ। पार्कभित्र विभिन्न वाटिका, चिडियाखाना र बाल उद्यान छन्।

उद्यानमा मानवपुर्खा मानिने रामापिथेकसको अर्धकदको शालिक छ। सन् १९८० डिसेम्बरमा बुटवलनजिकै तिनाउ किनारको पहरामा रामापिथेकसको माथिल्लो बंगारा भेटिएको थियो। यो बंगारा एक करोड १० लाख वर्ष पुरानो मानिएको छ। यो बंगारा काठमाडौंको प्राकृतिक संग्रहालयमा राखिएको छ।

यसैगरी मायादेवी, गौतम बुद्ध, मणिमुकुन्द सेन, उजिरसिंह थापा, यादवनाथ आलोक, लखन थापा, दशरथ चन्द, तारापति भट्टराई, बसिर मिया, जीवराज आश्रित, सूर्यप्रसाद घिमिरे र चोकबहादुर गुरूङ लगायतका अर्धकदका शालिक राखेर ‘बुटवल स्मारक’ निर्माण गरिएको छ।

हरेक उमेर समूहका मानिसहरूलाई उत्तिकै आकर्षित गर्ने यो पार्कमा नवविवाहित जोडी र प्रेमीप्रेमिकाहरू पनि घुमफिरका लागि जान्छन्।

चलचित्र र गीतको भिडिओ छायांकनका लागि पनि मणिमुकुन्द उद्यान आकर्षक स्थल बनेको छ।

यहाँको चिडियाखानामा चितुवा, भालु, बाँदर, स्याल, वनबिरालो, सेतो मुसा, हरिण, नीलगाई, जरायो, मृग, अजिंगर, खरायो, सेतो बाँदर, कछुवालगायत जनावर छन्।

मयुर, सुगा, ढुकुरलगायत चराचुरूंगी पनि छन्।

बुटवल उपमहानगरपालिका-२, पुरानो बटौली क्षेत्रमा पर्ने मणिमुकुन्द सेन उद्यान पर्यटकीय स्थलमात्र नभई ऐतिहासिक र पुरातात्विक स्थलका रूपमा समेत परिचित छ।

सम्बन्धित् समाचार