रुपन्देही ।
रुपन्देहीको आगन्तुक बचत तथा ऋण सहकारी संघ बन्द भएको छ । संकट परेको भन्दै मंसिर १७ गते सहकारी मर्जरमा गएको थियो ।
मर्जर गरेको भनेर बचतकर्तालाई ढाँटेका सञ्चालक कार्यालय बन्द गरेर बसेका छन् । मर्जर गरिएको दिन आगन्तुकसहित रुपन्देहीका ९ वटा सहकारी संस्थाले घोषणापत्र जारी गर्दै संकट टार्न मर्ज भएको र अब कुनै समस्या आउन नदिने घोषणा गरेका थिए ।
बुटवलमा रहेको आगन्तुक, भैरहवाको जनप्रिय बहुउद्देश्यीय सहकारी, सार्थक बहुउद्देश्यीय सहकारी, शाइन बहुउद्देश्यीय सहकारी, उपदेश बहुउद्देश्यीय सहकारी, उपकार बहुउद्देश्यीय सहकारीसँगै कपिलवस्तुको सुसन्देश बहुउद्देश्यीय सहकारी, नवलपरासीको शुभश्री बहुउद्देश्यीय सहकारी र बुटवलको वरदान बहुउद्देश्यीय सहकारीले आर्थिक संकट टार्न मर्जर प्रक्रियामा गएको जनाएका थिए ।
उनीहरुले साझा नाम ‘सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ को नाममा अघि बढ्ने गरी मर्जर प्रक्रियामा गएको जनाए पनि अहिले सञ्चालकहरुकै मनोमानीले त्यो प्रक्रिया पनि रोकिएको छ । त्यसमा जोडिएकामध्ये धेरै सहकारीको कारोबार संकटग्रस्त बन्दै गएको छ ।
बचतकर्ताले मर्जरमा गएका सहकारीका नेताहरुले नै गलत सन्देश दिएको र उनीहरु पनि सहकारी डुब्नुमा जिम्मेवार देखिएकाले छानबिन गर्न माग गरेका छन् ।