काठमाडौं ।
ब्याटिङमा कीर्तिमानी योगफल बनाएको नेपालले एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले ४६.३ ओभरमा नौ विकेट गुमाएर २२६ रनमात्र बनाउन सक्यो ।
पहिलो इनिङमा घाइते भएका कारण ओमानका अकिब इल्यास ब्याटिङमा नआएपछि नेपालले ८४ रनको जित निकालेको हो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले अलराउन्डर कुशल मल्लको शतकप्रेरित ओमानविरुद्ध ३११ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । यसअघि नेपालले कीर्तिपुरमै भएको पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा २९७ रन बनाउनु नै अहिलेसम्मको ठूलो योगफल थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निराशाजनक सुरुवात गरे पनि कुशलले मध्यक्रममा शतक बनाएपछि नेपालले निर्धारित ५० ओभर आठ विकेट गुमाएर ३१० रनको योगफल खडा गरेको थियो ।
रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको नेपालले ७२ रनमा शीर्ष चार ब्याटरलाई गुमाएको थियो । ७२–४ को कठिन अवस्थामा कुशलले आरिफ शेखसँग ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका कुशल ६४ बलमा नौ चौका र १० छक्कासहित १०८ रन बनाएर पभेलियन फर्किए । आरिफले टिमको खातामा २९ रन थपे ।
त्यसअघि ०–२ को अवस्थाबाट नेपालका कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । रोहित २३ रनमा आउट हुँदा भीम ३३ रनमा पभेलियन फर्किए ।
निराशाजनक सुरुवात गरे पनि अन्तिममा सोमपाल कामीले अर्धशतक बनाएपछि नेपाल विशाल योगफलतर्फ अघि बढेको थियो ।








