सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुमा २ हजार ५ सय टन क्षमता भएको कोल्ड स्टोरेज संचालनमा आएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका १० मा २५ करोड रुपैयाँको लगानीमा ‘एग्री वस्तु कोल्ड स्टोेरेज’ संचालनमा आएको हो ।

उक्त कोल्ड स्टोरेजमा जम्मा ८ वटा च्यम्बर रहेको संचालक आशिष शर्माले जानकारी दिए । आवश्यकता अनुसार ० देखि माईनस २५ डिग्रीसम्मको तापक्रममा सबै प्रकारका तरकारी, फलफुल भण्डारण गर्न सकिन्छ,’ संचालक शर्माले भने, ‘ नेपालमा पहिलो पटक सिआईपिसी प्रविधिमार्फत अहिले ६ सय टन आलु भण्डारण गरेका छौं ।’
कोरोना कालमै ५ महिना आफु छिमेकी देश भारतमा गएर बसेको सुनाउँदै उनले भने, त्यस क्रममा त्यहाँका हरेक राज्यमा कोल्ड स्टोरेजको अवस्था के छ भन्ने कुरा राम्रोसंग अध्ययन गरे ।’

नेपाल पनि व्यवस्थित कोल्ड स्टोरेजको आवश्यकता ठानेर नै आफुले आफ्नो क्षेत्रमा कोल्ड स्टोरेज संचालनमा ल्याएको उनले बताए । नेपालमा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म व्यवस्थित रुपमा कोल्ड स्टोरेज संचालन हुन नसकेको उनले बताए । ‘सरकारी लगानी र अनुदानमा संचालित नेपालका अधिकांश कोल्ड स्टोरेजहरु हेरे,’ उनले भने, त्यस क्रममा कहीकतै पनि राम्रोसंग चलेको पाईन् ।’
कृषि विभाग, कृषि मन्त्रालयमा पटकपटक धाएको उनले स्मरण गर्दै आफ्ना योजनाहरु सुनाउँदा कसैले चासो नदेखाएको गुनासो पोखे । उनका अनुसार यस कोल्ड स्टोरमा चिसोपनसंगै अक्सिजन, कार्बनडाईअक्सिाईड र एथिलिनको व्यवस्थापन गर्न सकिने क्षमता छ ।
नेपालमा पहिलो पटक ‘मोडिफाईड् एटमोस्फेयर कोल्ड स्टोरेज’ प्रविधिको कोल्ड स्टोरेज संचालनमा आएको उनको दाबी छ ।








