गृहपृष्ठ Featured बेङ्लोरलाई कोलकाताले हरायो

बेङ्लोरलाई कोलकाताले हरायो

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ । टोलीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई उसैको घरेलु मैदानमा २१ रनले पराजित गरेको हो ।

कोलकाताको यो सिजनमा बेंगलुरुमाथिको दोस्रो जित हो। यो जितपछि नितिश राणाको कप्तानीमा रहेको कोलकाताले प्लेअफमा प्रवेश गर्ने आशा कायमै राखेको छ । टोली ६ अंकसहित अंक तालिकाको सातौँ स्थानमा छ भने बेङ्लुरु ८ अंकसहित पाँचौं स्थानमा छ ।

एम चिन्नास्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । जेसन रोय (५६ रन) र नारायण जगदीशन (२७)ले ८३ रनको ओपनिङ साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात गराए । मध्यमा कप्तान नितिश राणाले ४८ र वेंकटेश अय्यरले ३१ रन बनाए । भानिन्दु हसरंगा र विजयकुमार वैशाकले समान २–२ विकेट लिए ।

जवाफमा बैंग्लोरका ब्याट्सम्यानले २० ओभरमा ८ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सके । कोलकाताका स्पिनरले प्रभावकारी बलिङ गरे । वरुण चक्रवर्ती र सुयश शर्माले मिलेर ५ विकेट लिए ।

कप्तान विराट कोहलीले ५४ रन र महिपाल लोमररले ३४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । दिनेश कार्तिकले २२ रनको योगदान दिए । वरुण चक्रवर्तीले ३ विकेट लिए । सुयश शर्मा र आन्द्रे रसेलले २–२ विकेट लिए ।

सम्बन्धित् समाचार