गृहपृष्ठ Featured पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृत्यु

पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृत्यु

विराटनगर । 

पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका वृद्धको उपचारका क्रममा विराटनगरको रेड प्लेस अस्पताल एन्ड ट्रमा सेन्टरमा मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पेट्रोल खन्याएर शरीरमा आगो लगाएका मोरङको लेटाङ नगरपालिका–७ घर भइ मकवानपुरको हेटौँडामा बस्दै आएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले मृत्यु भएको हो।

शरीरका अधिकांश भाग जलेका वृद्धको शुक्रबार बिहानका राति २:२५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
उनका अनुसार बिहीबार बिहान १०:४० बजेतिर ग्यालेनमा पेट्रोल लिएर आएका वृद्धले आफ्नै शरीरमा खन्याएर आगो लगाएका थिए।

पानी हालेर आगो निभाउँदै उद्धार गरेर उनलाई उपचारका लागि स्थानीयले अस्पताल पुर्‍याए। आगोले वृद्धको शरीरका अधिकांश भाग, लगाएको कपडा र जुत्ता डढेको थियो। साथमा बोकेको झोलामा फेला परेको नागरिकताका आधारमा उनको पहिचान खुलेको हो।

डीएसपी दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट वृद्धले लेनदेन विवादका कारण आफ्नै शरीरमा आगो लगाएको खुलेको छ।

सम्बन्धित् समाचार