सागर वि.क., कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हालसम्म रास्वपाको रङ प्रष्ट नभएको टिप्पणी गरेका छन् । राप्रपासहितका कांग्रेस, एमाले, माओवादी जस्ता पार्टीहरुको रङ प्रष्ट भईसकेको तर रास्वपाको रङ प्रष्ट भईनसकेको उनको भनाई छ । शनिबार राप्रपाकोे लुम्बिनी प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका कपिलवस्तु आएका लिङ्देनले पत्रकारसंग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘कांग्रेस, एमाले, माओवादी, राप्रपा के हो, रङ प्रष्ट छ,’ उनले भने, ‘त्यसलाई मन पराउने नपराउने छान्ने अधिकार जनतामा छ, तर रास्वपाको रङ प्रष्ट छैन् ।’
हालै सम्पन्न उपनिर्वाचनमा रास्वपाको सफलतालाई राप्रपाले सकारात्मक रुपमा लिएको बताउँदै उनले भने, ‘रास्वपाले २ वटा सिटमा राम्रो मतान्तरसहित जित हात पार्यौ, यसले आमजनता परिवर्तनको पक्षमा जान थाल्यो भन्ने कुरालाई प्रमाणित गरेको छ ।’
उनले रास्वपासंग डराउनुपर्ने स्थितिमा राप्रपा नभएको दाबी गरे । उनले उपनिर्वाचनको मतपरिणामले मतदाता विकल्पतर्फ र व्यक्ति केन्द्रत हुदैं गएको भन्ने देखिएको बताए । उनले राप्रपाका मुल एजेण्डालाई केही बर्षभित्रै कांग्रेस, एमालेसहितका प्रमुख राजनितिक दलले लिएर अघि बढ्ने परिस्थितिको सिर्जना गर्ने दाबी गरे ।
अध्यक्ष लिङ्देनले छोटो समय सरकारमा रहँदा ४ बर्षदेखि हुन नसकेको विद्युत सम्झौता खुल्ला गरेको बताउँदै तमोर, बुढीगण्डकी, दुधकोशी जस्ता जलाशययुक्त आयोजनाहरु बन्ने सुनिश्चिता गरेको दाबी गरे ।
उनले आगामी २०८४ मा हुने चुनावबाट संघीय सांसदमा हालको प्रतिनिधित्व १४ औं गुणा बढ्ने र सोही अनुरुपमा काम गर्न पार्टी नेता, कर्ताकर्तालाई निर्देशन समेत दिए ।








