सागर वि.क., वैखरी अनलाईन ।
हरेक घरमा शिक्षा नामक संस्थाले पाठ्य पुस्तकमा आवश्यक परिमार्जनको लागी अभियान सुरु गरेको छ । शुक्रबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा नगर स्तरिय नागरिक शिखर सम्मेलन आयोजना गरि उक्त अभियान सुरु गरिएको हो ।

विद्यालय तथा विश्व विद्यालयमा पढाई हुने कितावहरुमा रहेका त्रुटिहरु केलाएर आवश्यक सुधार गर्ने उद्देश्यसहित यो अभियान सुरु गरिएको संस्थाका संस्थापक होमराज आचार्यले जानकारी दिए । उनका अनुसार त्यस्ता त्रुटिहरु पत्ता लगाउन गाउँ, नगरस्तरबाट सुझाव संकलन गर्दै विषय विज्ञहरु संलग्न हुने छन् । यस किसिमको खोज अनुसन्धान नेपालमै पहिलो भएको उनले दाबी गरे ।
विभिन्न संघसंस्था, सरोकारवाला तथा स्थानीय निकायसंग समन्वय गरेर यस अभियानलाई सफल बनाउने योजनासहित आफुहरु अघि बढेको उनले बताए । निति निर्माणमा जनताको समेत प्रत्यक्ष सहभागि हुनुपर्ने मान्यता राखेर शिखर सम्मेलनको रुपमा बहस चलाएको उनको भनाई छ ।
सार्वजनिक निति विश्लेषकका रुपमा समेत रहेका आचार्यले राज्य सामन्तवादी सोचबाट अगाडि बढेको बताए । उनले यस सम्मेलन पछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा संचालन गर्ने तयारी समेत रहेको जानकारी दिए ।

उनका अनुसार सम्बन्धि सम्पुर्ण निकायहरुसंगको छलफल, अन्तरक्रिया पश्चात प्राप्त निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाईने छ ।
शिखर सम्मेलन कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान शिक्षा प्रणाली समायानुकुल नभएको बताएका थिए । उनीहरुले किताबहरुमा दिईएका तथ्याङ्कहरु अपडेट नभएका, अस्पष्ट, विद्यार्थीको स्तरसंग मेल नखाएको, शब्द छनोटमा त्रुटि लगायतका समस्या देखेको बताएका थिए । पढेर देशमै केही गर्ने युवा उत्पादनका लागी शिक्षामा आमूल परिवर्तन गर्न आवश्यक रहेको उनीहरुको भनाई छ ।

उनीहरुले त्यसका लागी वर्तमान शिक्षा प्रणाली सिपसहितको शिक्षामा केन्द्रित हुनुपर्ने बताए ।
बुद्धभूमि नगरपालिका ४ का वडाध्यक्ष सुसिल कुमार चौधरीको अध्यक्षमा सम्पन्न उक्त सम्मेलनमा बुद्धभूमि नगरपालिका ३ का वडाध्यक्ष गोविन्द प्रसाद आचार्य, वडा नम्बर ५ का वडाध्यक्ष रोमबहादुर थापा क्षेत्री, वडा नम्बर ७ का वडाध्यक्ष शालिकराम यादव, वडा नम्बर ९ का वडाध्यक्ष प्रमोद आचार्य लगायतका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।








