गृहपृष्ठ Featured नक्कली शरणार्थी प्रकरण : सत्तापक्ष र प्रतिपक्षको जुहारी

नक्कली शरणार्थी प्रकरण : सत्तापक्ष र प्रतिपक्षको जुहारी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ।

बैठकको प्रारम्भमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सो विषयमा आ–आफ्नो धारणा राखे। एमाले संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिंगो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन माग गरे। ‘सत्यतथ्य, पारदर्शी ढंगले छानबिन गरियोस्, तर हामी आज सुन्दै छौँ, सोही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ,’ उनले भने।

त्यसैगरी, एमाले सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए। सांसद सूर्यबहादुर क्षेत्रीले दोषीलाई कारबाही होस्, निर्दोषलाई नफसाइयोस् भने।

यता माओवादी सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीसमक्ष बुझाउन आग्रह गरे। सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने भन्दै भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने धारणा राखे।

राप्रपा सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गरे। सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका नेताहरू विभिन्न भ्रष्टाचारसम्बन्धी घटनामा मुछिएका उदाहरण पेस गर्दै नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गरे। ‘उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचरसम्बन्धी घटनाको छनबिन गर्नुपर्छ,’ उनले भने। सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद प्रदीप यादवले तत्काल नागरिकता विधेयक जारी गर्न माग गरे। सांसद रघुजी पन्तले नागरिकता विधेयक वर्तमान राष्ट्रपतिबाट जारी गर्ने विषय कानुनसम्मत नभएको बताए।

यसैगरी, सांसद सुनील शर्माले भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसदमा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए। सांसद सरिता प्रसाईंले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्न नहुने बताइन्।

सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन्। सांसद आरजु राणाले आफ्नो चरित्रहत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको जिकिर गरिन्। उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै आफूहरू त्यसका निम्ति तयार रहेको बताइन्।

रास्वपाका सांसद हरि ढकालले विगत ३३ वर्षमा भएको भ्रष्टाचारसम्बन्धी घटनाको आयोग बनाएर छानबिन हुनुपर्ने बताए। सरकारले नक्कली शरणार्थी प्रकरणमा छानबिन गर्ने तदरुकता देखाएकाप्रति उनले धन्यवाद ज्ञापन गरे। सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्च पदस्थ अधिकारी यो प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यसमा संलग्न तत्कालीन सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गरे।

सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्ष दुवैले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढंगले उठाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। -रासस

सम्बन्धित् समाचार