गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगा- ७ का वडाध्यक्ष गिरी योजना सम्पन्न गर्नमा पहिलो !

बाणगंगा- ७ का वडाध्यक्ष गिरी योजना सम्पन्न गर्नमा पहिलो !

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा वडा नम्बर ७ योजना सम्पन्न गर्ने कार्यमा अगाडि देखिएको छ । चालु आर्थिक बर्ष २०७९/८० को वैशाखसम्ममा वडा नम्बर ७ ले ७२ प्रतिशत योजनाहरु सम्पन्न गरेको छ । ५७ वटा योजना रहेको उक्त वडाले वैशाखसम्म ७२ प्रतिशत योजना सम्पन्न गर्दै पहिलो भएको हो ।

आर्थिक वर्ष सकिन २ महिना मात्रै बाँकी रहँदा जिल्लाका अधिकांश स्थानीय निकायका वडालाई चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयन गर्न भ्याइनभ्याइ हुँदा वडा नम्बर ७ लाई भने कार्यान्वयन भएका योजनाको भुक्तानी प्रक्रिया टुङ्ग्याउने चटारो छ । वडाध्यक्ष विष्णु गिरीले वडामा चालु आर्थिक वर्षका ७२ प्रतिशत योजना कार्यान्वयन भईसकेको र अन्य योजनाको कामसंगै भुक्तानीको प्रक्रिया चलिरहेको जानकारी दिए ।

अध्यक्ष गिरीले ऐन, नियम र कानुनको क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिले जनसेवकका रुपमा काम गरेमा धेरैजसो समस्या समाधान हुने बताए । ‘हामी जनताको सेवक भएर काम गर्नका लागि निर्वाचित भएर आएका हौं, तर व्यक्तिगत र पार्टीगत लाभ हेर्न थालेमा समस्या उत्पन्न हुन्छ,’ उनले भने । वडाका सबै सरोकारवालामा विकासका काममा अवरोध गर्नुहुँदैन भन्ने भावना विकास भएकाले पनि समयमै काम गर्न सम्भव उनको भनाई छ । ‘ऐन, नियम र कानुनको परिधिभित्र रहेर काम गर्ने कुरामा प्रतिवद्ध छु,’ उनले भने, ‘कुनै काम गर्दा विवाद आउनसक्छ तर त्यसको निदानका लागि विधि हुन्छ । त्यसैको समस्या समाधानमा सबै एकिकृत हुन जरुरी छ ।’

दोस्रो कार्यकालका लागी निर्वाचित भएका वडाध्यक्ष गिरीले यस भन्दा अगाडिको ५ बर्षे कार्यकालमा पनि आफ्नो वडालाई योजना सम्पन्न गर्नमा पहिलो बनाउँदै आएका थिए ।

यस्तै वैशाखसम्मको तथ्याङ्क हेर्दा ३४ वटा योजना रहेको वडा नम्बर ४ योजना सम्पन्न गर्नमा दोस्रो देखिएको छ । ६८ प्रतिशत योजना सम्पन्न गर्दै वडा नम्बर ४ दोस्रो भएको हो ।

वडाध्यक्ष छविरेस्मी मगरले आफ्नो पहिलो कार्यकालको पहिलो बर्षमै विगतमा भन्दा योजना सम्पन्न गर्ने सन्दर्भमा फड्को मारेको दाबी गरे । विभिन्न समस्याका बाबजुद सबैको समन्वय र पहलपछि वैशाखसम्ममै ६८ प्रतिशत योजना सम्पन्न गर्न सफल भएको बताउँदै उनले भने, ‘आगामी आर्थिक वर्षमा जनताले अनुभूत गर्ने गरी विकासका क्रियाकलाप सञ्चालन गर्न सघाउ पुगेको छ ।’

यता वडा नम्बर २ ६७ प्रतिशत योजना सम्पन्न गरि तेस्रो भएको छ । ३२ वटा योजना रहेको उक्त वडा चालु आर्थिक बर्षको वैशाखसम्ममा ६७ प्रतिशत योजना सम्पन्न गरि तेस्रो भएको हो ।

यता वैशाखसम्ममा वडा नम्बर १ ले ४९ प्रतिशत, वडा नम्बर ३ ले ४५ प्रतिशत, वडा नम्बर ५ ले १७ प्रतिशत, वडा नम्बर ६ ले ४७ प्रतिशत, वडा नम्बर ८ ले ४४ प्रतिशत, वडा नम्बर ९ ले ६६ प्रतिशत, वडा नम्बर १० ले ५६ प्रतिशत र वडा नम्बर ११ ले ३७ प्रतिशत योजना फस्र्यौट गरेको छ ।

सम्बन्धित् समाचार