गृहपृष्ठ Featured पाल्पामा राष्ट्रिय ‘बिच भलिबल’ सुरु : आर्मी, गण्डकी र लुम्बिनीको विजयी सुरुआत

पाल्पामा राष्ट्रिय ‘बिच भलिबल’ सुरु : आर्मी, गण्डकी र लुम्बिनीको विजयी सुरुआत

प्रकाशित मिति:

पाल्पा ।

पर्यटकीय स्थल रानीमहलमा बिहीबारबाट सुरु भएको राष्ट्रिय बिच भलिबलमा त्रिभुवन आर्मी, गण्डकी र लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेका छन् । उद्घाटन खेलमा त्रिुभवन आर्मी विजयी भएको छ । उसले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो ।

त्रिभुवन आर्मीले लुम्बिनी प्रदेशलाई २१–१५ र २१–११ को सेटमा पराजित गरेको छ । दोस्रो खेलमा गण्डकी प्रदेशले आयोजक टिमालाई सोझो सेटमा हराएको छ ।

गण्डकीले आयोजकमाथि २१–११ र २१–१५ को सेटमा जित निकालेको हो । तेस्रो खेलमा सुदूरपश्चिम मैदानमा उपस्थिति हुन नसकेपछि लुम्बिनी प्रदेश स्वतः विजयी भएको छ । यस्तै चौथो खेलमा गण्डकी प्रदेशले बागमतीलाई सोझो सेटमा पराजित गरेको छ । गण्डकीले वाग्मतीमाथि २१–१६ र २१–१५ को सेटमा जित निकालेको छ ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा सुरु प्रतियोगितामा कोशीबाहेक ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी १० टिम सहभागी छन् ।

प्रतियोगिताको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरे । नगरप्रमुख श्रेष्ठ र बगनासकाली गाउापालिकाकी अध्यक्ष सरस्वती दर्लामी चिदीले रानीमहललाई बिच भलिबलको हब बनाउने लिखित प्रतिबद्धतासमेत जनाए । जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले सबैको सहयोग हुने हो भने प्रतियोगिताले निरन्तरता पाउने बताए ।

बिच भलिबलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाासहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाासहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाासहित ट्रफी, मेडल र सान्त्वना हुने टिमले २५ हजार रुपैयाा प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताइन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफीसहित १० हजार रुपैयाा प्राप्त गर्नेछन् ।

सम्बन्धित् समाचार