गृहपृष्ठ Featured एसिया कप : पाकिस्तानको नयाँ प्रस्ताव !

एसिया कप : पाकिस्तानको नयाँ प्रस्ताव !

प्रकाशित मिति:

काठमाडौं ।

एसिया कपमा भारतले पाकिस्तान भ्रमण गर्न नमानेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले चार खेलमात्र आफ्नो देशमा गराउने प्रस्ताव गरेको छ । पाकिस्तानी समाचार संस्था क्रिकेट पाकिस्तानले खुलाएअनुसार भारत पाकिस्तानमा नआउने भएपछि गरिएको ‘हाइब्रिड’ मोडेलमा पनि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सहमत नभएपछि पाकिस्तानले आफ्नो देशमा चार खेलमात्र गर्ने नयाँ प्रस्ताव गरेको हो । भारतले पाकिस्तानमा एसिया कप नहोस् भन्ने चाहँदा पाकिस्तान भने प्रतियोगिताको आयोजकमा आफ्नो नाम जोड्न चाहन्छ ।

एसिया कप क्रिकेट प्रतियोगिताबारे पछिल्लो समय हरेक दिन नयाँ घटनाक्रम सार्वजनिक भइरहेका छन् । भारत र पाकिस्तानबीचको राजनीतिक टकरावका कारण पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको ‘आयोजना स्थल सर्ने’ वा प्रतियोगिता नै ‘रद्द हुने’ चर्चाले हरेक दिन भारतीय र पाकिस्तानी सञ्चारमाध्यममा उच्च प्राथमिकता पाइरहेको छ । यसपटक नेपाल पनि एसिया कपमा छनोट भएकाले प्रतियोगितालाई लिएर आउने हरेक घटनाक्रम नेपाली क्रिकेटका लागि पनि उत्तिकै चासोको विषय बनेको छ ।

क्रिकेट पाकिस्तानले पीसीबी व्यवस्थापन कमिटिका प्रमुख नजाम सेठीले युनाइेट अरब इमिरेट्स (यूएई)मा भएको एसियन क्रिकेट काउन्सिल (एसीसी)को बैठकमा चार खेल पाकिस्तानमा गर्ने प्रस्ताव गरेको खुलाएको छ । जसमा एसिया कप खेल्ने भारतबाहेक, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालले आफ्नो एक खेल पाकिस्तानमा खेल्ने र फाइनलसहित बाँकी सात खेल भने यूएईमा गराउने प्रस्ताव छ ।

सेप्टेम्बरमा गर्मी उच्च हुने हुँदा युनाइटेड अरब इमिरेट्स (यूएई)मा प्रतियोगिता सार्ने विषयमा अरू राष्ट्रले सहमति जनाएका छैनन् । प्रतियोगिता आयोजनाका लागि ओमानले पनि प्रस्ताव गरेको सार्वजनिक भएको छ । तर, ओमानमा पनि यूएईको जस्तै वातावरण रहेकाले भारतसँगै बंगलादेश र पाकिस्तान अरब मुलुकको यात्रा गर्न पनि तयार नभएको जनाइएको छ ।
यता, पाकिस्तानले भने सन् २०१८ को एसिया यूएईमा सेप्टेम्बरमै भएको र २०२० को इन्डियन प्रिमियर लिग (आईपीएल) पनि सेप्टेम्बरमै यूएईमा भएको तर्क प्रस्तुत गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएका छन् ।

किन पाकिस्तान एसिया कप आयोजना गर्न चाहन्छ ?
सन् १९९७ मा स्वतन्त्रता दिवसको अवसरमा चारदेशीय (विल्स गोल्डेन जुबिली) प्रतियोगिता आयोजना गरेको ११ वर्षपछि पाकिस्तानले सन् २००८ को एसिया कप आयोजन गर्यो । त्यसयता पाकिस्तानले कुनै पनि महत्वपूर्ण प्रतियोगिता आयोजना गर्न सकेको छैन । जसको प्रमुख कारण सुरक्षा बनेको छ । पाकिस्तानसँगै यस वरपरका मुश्लिम राष्ट्रलाई आधार बनाएर आतंकवादी गतिविधिलाई अघि बढाएको ‘अल कायदा’बाट बारम्बार हुने आत्मघाती आक्रमणसँगै अन्य हिंसात्मक गतिविधिका कारण पाकिस्तान विश्वसामू असुरक्षित देशको रूपमा परिचित थियो । यसैकारण पाकिस्तानले सन् २००२ को एसिया कप आयोजना गर्ने अवसरको सदुपयोग गर्न सकेन ।

भारत तथा अन्य देशले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गर्न नमानेपछि एसिया कपको उक्त संस्करण नै रद्द भयो । सोही वर्षको मे मा पाकिस्तान भ्रमणमा रहेको न्युजिल्यान्डको टिम बसेको होटलबाहिर बम विष्फोट भएपछि न्युजिल्यान्ड शृंखला नखेली घर फर्किएको थियो । कराचीमा भएको उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो । जसमा नौजना फ्रान्स नौसेनाका कर्मचारी थिए । यो घटनाले पाकिस्तान असुरक्षित रहेको सन्देशलाई थप प्रश्रय दियो । सन् २००८ को एसिया कप आयोजनापछि पाकिस्तान आफ्नो देश खेलकुद प्रतियोगिताका लागि सुरक्षित रहेको सन्देश दिन सफल भयो । जसका कारण केही देश दुईदेशीय क्रिकेट शृंखलाका लागि पाकिस्तान भ्रमण गर्न तयार भए ।

तर, सन् २००९ मा लाहोरमा क्रिकेट शृंखला खेल्न गएको श्रीलंकन टिमका खेलाडी सवार बसमा हतिहारधारी समूहले आक्रमण गरेपछि विश्वसामू पाकिस्तान खतरनाक र आतंकवादबाट ग्रसित देशका रूपमा परिचित भयो । त्यसबेला श्रीलंका तीन एकदिवसीय र दुई एकदिवसीय खेलको दुई शृंखलाका लागि पाकिस्तान भ्रमणमा थियो । तर, हतियारधारी  समूहबाट आक्रमण भएपछि उक्त शृंखला बीचमै रद्द भयो । उक्त आक्रमणमा श्रीलंकन खेलाडी कसैको मृत्यु नभए पनि ६ पाकिस्तानी प्रहरी, दुई सर्वसाधारण र एक मिनिभ्यानका ड्राइभरको मृत्यु भएको थियो । त्यसपछि ६ वर्षसम्म कुनै पनि टिमले क्रिकेट शृंखलाका लागि पाकिस्तानको भ्रमण गरेनन् ।

श्रीलंकन खेलाडीमाथि भएको उक्त आक्रमणपछि सन् २०१५ मा जिम्बाब्वेले शृंखलाका लागि पाकिस्तान भ्रमण गरेको थियो । त्यसबेला जिम्बाब्वेले तीन एकदिवसीय र दुई ट्वान्टी–२० खेलका लागि पाकिस्तान भ्रमण गरेको थियो । त्यसयता शृंखलाका लागि पाकिस्तान भ्रमण गर्ने राष्ट्रको संख्या बढ्दै छ । जिम्बाब्वेले भ्रमण गरेको ६ वर्षपछि २०१९ को डिसेम्बरमा श्रीलंकाले टेस्ट शृंखलाका लागि पाकिस्तान भ्रमण गर्यो । सन् २००९ मा भएको आतंकवादी हमलापछि पाकिस्तानमा भएको यो पहिलो टेस्ट शृंखला थियो । शृंखलाको पहिलो टेस्ट बराबरी हुँदा दोस्रोमा भने पाकिस्तान २६३ रनले विजयी भएको थियो । तर, अझै पनि सुरक्षाकै कारण केहीले भने तय भएको शृंखला पनि रद्द गर्दा उनीहरूमा पाकिस्तान सुरक्षित नरहेको धारणा अझै रहेको देखाउँछ ।

सुरक्षाको चासोलाई हटाउन पाकिस्तान एसिया कप जसरी पनि आफ्नो भूमीमा गर्न चाहन्छ । जसका लागि पाकिस्तान प्रतियोगिताको सह–आयोजक बन्न पनि तयार देखिन्छ । पाकिस्तान कुनै पनि हालतमा एसिया कपलाई आफ्नो देशभन्दा बाहिर लैजान चाहँदैन । एसिया कपको सफल आयोजना गर्न सके विश्वसामू पाकिस्तान सुरक्षित रहेको र आईसीसीका अन्य प्रतियोगिताहरू पनि सहजै आयोजना गर्न सकिन्छ भन्ने पीसीबीको विश्वास छ ।

सम्बन्धित् समाचार