गृहपृष्ठ Featured सन्धिखर्कका पुष्कर तरकारी खेतीबाटै करोडौँको मालिक !

सन्धिखर्कका पुष्कर तरकारी खेतीबाटै करोडौँको मालिक !

सन्धिखर्क ।

सन्धिखर्क नगरपालिका-८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाएका छन्। लटरम्मै टमाटर फलेको छ। हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख रुपैयाँ बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन्।

एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाइ छ।

दैनिक तीन/चार क्विन्टल टमाटर बेचिरहेका उनको टमाटरले बजार पनि राम्रो पाएको छ। प्रतिकेजी ४० देखि ५० सम्म थोक मूल्यमा टमाटरका साथै तरकारी पनि दैनिक १० हजार रुपैयाँको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहेका छन्।

बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन्। अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा १५/१६ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ। उनले गरेको देखासिकीबाट सिंगो गाउँ नै तरकारी खेतीमा लागेको छ।

५० वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक हुन्। सामान्य परिवारका जन्मिएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन।

महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो। जागिरभन्दा उत्पादनमुलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाएका छन्।

तरकारीबाट वर्षमा १० लाख सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाएका बञ्जाडेले तीन करोडभन्दा बढीको घर र घडेरी जोडिसकेका छन्। यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए।

सम्बन्धित् समाचार