नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सकिएको छ।
मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा सरकारी वकिलको रोहबरमा प्रहरीले उनको बयान लिएको हो। उनको बयान राति साढे ९ बजे सकिएको कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए।
उनका अनुसार बयान मंगलबार बिहान साढे ११ बजेदेखि सुरू भएको थियो। त्यस बेलादेखि सुरू भएको बयान नरोकी बेलुकी साढे ९ बजेसम्म भएको उनले बताए।
‘बिहान साढे ११ बजेदेखि निरन्तर बेलुका साढे ९ नै बजेसम्म बयान भयो। सकेर अहिले वकिल र प्रहरीहरू फर्किँदै हुनुहुन्छ,’ न्यौपानेले भने।
खाणको बयान प्रहरीले सोमबार नै सुरू गरेको थियो। तर अस्वस्थ भएको भन्दै डेढ घन्टा मात्रै बयान भएको थियो। उनको बयान नभए पनि यस प्रकरणमा पक्राउ परेका नेकपा एमाले सांसद टोपबहादुर रायमाझीको बयान प्रहरीले सोमबार लिएको थियो।
प्रहरीले रायमाझीको बयान साढे ५ घन्टा लिएको थियो।
प्रहरीले यस प्रकरणमा १४ जनालाई पक्राउ गरेको छ। अब सोमबार राति पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पाको बयान लिन बाँकी छ। उनको बयान बुधबार लिने तयारी छ।
प्रहरीले यस प्रकरणको अनुसन्धान संगठित अपराध कसूरमा गरिरहेको छ। चैत १२ गतेदेखि सुरू भएको अनुसन्धान ६० दिनभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने प्रावधान छ। अबको एक हप्तामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्नेछ।








