सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ ले जेष्ठ नागरिकलाई सम्मान स्वरुप च्यवनप्राश वितरण गरेको छ । वडाले आर्थिक बर्ष २०७९÷८० मा रहेको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत एक सय ३ जना जेष्ठ नागरिकलाई सुगरफ्रि च्यवनप्राश वितरण गरेको वडा सचिव सन्तोष बहादुर थापाले जानकारी दिए ।

वडाध्यक्ष विष्णुप्रसाद पौडेलले जेष्ठ नागरिकलाई रेखदेख गर्नुपर्ने संविधानमै प्रावधान भएको बताए । सोही अनुसार स्थानीय सरकारको पनि दायित्व हुने भएकाले हरेक बर्ष जेष्ठ नागरिकलाई सम्मान स्वरुप विभिन्न काम गर्दै आईरहेको बताए । सबै मानिसका लागि पोषणयुक्त चीज च्यवनप्राश भएको बताउँदै उनले यसले रोग प्रतिरोधी क्षमता बढाउन भूमिका खेल्ने बताए ।
वडाध्यक्ष पौडेलले जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य विमा गराउने काम भईरहेको जानकारी दिदैं त्यसका लागी घरघरमै स्वास्थ्य विमा सहजकर्तालाई पठाउने बताए । वृद्धवृद्धालाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता सरकारले कटौती गर्छ भन्न्ने हल्ला गाउँघरमा चलेको भन्दै उनले त्यसमा कुनै सत्यता नभएकोले स्पष्ट पारे ।

उनले आगामी बर्षको निति तथा कार्यक्रममा जेष्ठ नागरिकको सल्लाह सुझाव लिएर अघि बढ्ने बताए । जेष्ठ नागरिक सबैको अभिभावक भएकाले वडाले विगतदेखि नै सम्मान गर्दै आएको र आगामी बर्षहरुमा पनि सम्मान गर्दैअघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
जेष्ठ नागरिक समाज बाणगंगा- २ का अध्यक्ष अम्मर बहादुर थापाले बसमा यात्रा गर्दा कार्ड देखाउँदा पनि वृद्धवृद्धाहरुलाई हुनुपर्ने ५० प्रतिशत छुट नहुने गरेको भन्दै गुनासो गरे । उनले जेष्ठ नागरिकले आफ्नो हक अधिकारको लागी शसक्त रुपमा आवाज उठाउन आवश्यक देखिएको बताए ।








