रुपन्देही ।
गत चैत ५ गते रोकिएको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जेठ १४ गते हुने भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले रोकिएकै अवस्थाबाट निर्वाचन प्रक्रिया सुरु गर्न आदेश दिएपछि निर्वाचन समितिले स्ववियु निर्वाचनको मिति तय गरेको हो ।
उच्चले वैशाख ११ गते स्ववियु निर्वाचनको मिति तोक्न उत्प्रेषणयुक्त आदेश दिएको थियो । क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते निर्वाचन हुनेछ ।
अदालतको आदेशअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए ।
गत फागुन २९ गते एक सूचना प्रकाशित गरी निर्वाचन स्थगन गरेपछि क्याम्पसविरुद्ध रिट निवेदन परेको थियो ।
क्याम्पसमा चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । स्ववियु चुनाव देशभर गएको चैत ५ गते भएको थियो । त्यसै वेला निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएका थिए ।








