गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा माछा अनुसन्धान केन्द्र बन्ने पक्का !

कपिलवस्तुको बाणगंगामा माछा अनुसन्धान केन्द्र बन्ने पक्का !

कपिलवस्तु ।

कपिलवस्तुमा माछा अनुसन्धान केन्द्र निर्माण हुने भएको छ । राष्ट्रिय कृषि अनुसन्धान केन्द्र ‘नार्क’ को विहीबार बसेको ६३ औं परिषद बैठकले जिल्लाको बाणगंगा नगरपालिका- ८ मा माछा अनुसन्धान केन्द्र बनाउने निर्णय गरेको हो ।

डा। बेदुराम भुसालले आफू कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै जिल्लामा नार्कको कार्यालय स्थापनाका लागि पहल थाल्नु भएको थियो । यसका लागि बैशाख अन्तिम हप्ता कृषिमन्त्री भुसाल जिल्लामा स्थलगत अनुगमनमा निस्कनुभएको थियो ।

जिल्लाका विभिन्न स्थानको अवलोकन पश्चात बाणगंगा- ८ को जग्गा उपयुक्त देखिएपछि यहाँ माछा अनुसन्धान केन्द्र बन्ने भएको हो ।

नार्कको अध्यक्ष समेत रहनुभएका मन्त्री भुसालले ६३ औं परिषद् बैठकमा माछा अनुसन्धान केन्द्र स्थापनाको एजेण्डा लैजानु भएको थियो । परिषद बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत पारित गर्दै यसको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

नेपालको तराई क्षेत्रमा समग्र ८० प्रतिशत माछा उत्पादन हुँदै आएको छ। तर माछा सम्बन्धी अनुसन्धान केन्द्र नभएको अवस्थामा पहिलो पटक नार्कले छुट्टै कार्यालय स्थापना गर्न लागेको हो ।

नार्कका लागि बाणगंगा नगरपालिकाले २५ विगाह जग्गा उपलब्ध गराउने छ । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले माछा अनुसन्धान केन्द्र स्थापनाका लागि नगर कार्यापालिकाबाट जग्गा उपलब्ध गराउने गरी पहल थालिसक्नुभएको छ ।

नार्कका बैज्ञानिक सम्मिलित एक टोलीले जग्गाको प्रारम्भिक निरीक्षण गरिसकेको छ । अब जग्गा प्राप्ति लगायतका बाँकी काम अगाडि बढाउने गरी काम भइरहेको नार्कले जनाएको छ ।

सम्बन्धित् समाचार