गृहपृष्ठ Featured लुम्बिनी प्रदेशको बजेट १० अर्ब घट्दै !

लुम्बिनी प्रदेशको बजेट १० अर्ब घट्दै !

रुपन्देही ।

लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । यसअनुसार गत वर्षको भन्दा करिब १० अर्ब बजेटको आकार घट्ने भएको हो ।

गत वर्ष ४२ अर्ब ६३ करोड ५७ लाख बजेट आएको थियो । तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि–बजेटमा छलफल भइरहेको आर्थिक मामिला मन्त्रालयका कर्मचारीको भनाइ छ ।

विगतको बजेटमा २० प्रतिशत कटौती भएमा ३४ अर्ब १० करोडको हाराहारीमा बजेट आउने छ । यद्यपि अहिले यसका आधारभूत विषयमा छलफल चलिरहेको छ ।

आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ ।

‘गत वर्षको बजेट घट्ने निश्चित हो, राजश्व परामर्श समितिले प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पु¥याएको छ, स्रोत अनुगमन समितिको बैठक बसेर गएको वर्षको बजेटको ८० प्रतिशत मात्रै बजेट ल्याउने गरी मन्त्रालयलाई मार्गदर्शन गरिएको छ, यसैमा आधारित भएर आउँछ होला’, प्रवक्ता पाण्डेले भने ।

प्रदेश योजना आयोगका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले अहिले प्रि–बजेटमा छलफल चलिरहेको भन्दै बजेट सीमा निर्धारण अन्तिम चरणमा पुगेको बताउँदै यस वर्ष नयाँ योजना थप्नेभन्दा पनि विगतका ठूला योजनालाई पूरा गर्नेतर्फ बजेट केन्द्रित हुने जनाए ।

‘विगतका जस्ता साना योजना कटौती हुने छन् । समृद्धि, रोजगारी र गरिबी निवारण नै मुख्यमन्त्रीको प्राथमिकता रहेकाले यसकै सेरोफेरोमा बजेट आउने सम्भावना छ,’ उनले भने ।

जनमतका सांसद तथा यसअघि एमाले नेतृत्वको सरकारमा मन्त्री रहेका चन्द्रकेश गुप्ताले सरकार बिस्तार नहुँदा बजेटका विषयमा छलफल हुन नपाएको बताए ।

नेपाली कांग्रेसका सांसद रोज राणाले पनि अहिलेसम्म बजेटका विषयमा केही जानकारी नभएको बताए ।

राणा पनि अहिले पहिलोपटक सदनमा पुगेका हुन् । गुप्ता र राणा नयाँ भएकाले बजेटमा कसरी आफ्नो क्षेत्रका योजना राख्ने भन्ने विषयमा मन्त्रालयगत रूपमा समेट्न नसकेका हुन सक्छन् तर केही पुराना सांसदहरूले भने मन्त्रालयगत रुपमा कर्मचारीलाई आफ्ना क्षेत्रका योजना समेट्न दौडधुपमा लागेका छन् । बजेट घट्ने भएपछि चुनावमा गरेका प्रतिबद्धता समेट्न उनीहरूको दौडधुप बढेको हो ।

सम्बन्धित् समाचार