वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरपालिकाबाटै पुनः श्रम स्वीकृति दिन थालेको छ । सोमबारदेखि नगरपालिकाबाटै उक्त सेवा दिन थालिएको हो । वैदेशिक रोजगारीलाई थप स्तरिय, व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन उक्त सेवा महत्वपुर्ण सावित हुने नगर प्रमुख केशवकुमार श्रेष्ठले बताए ।
स्थानीयलाई श्रमस्वीकृतका लागी काठमाडौं, बुटवल धाउनुपर्ने बाध्यताको अन्त्यका लागी सेवा सुरु गरिएको उनको भनाई छ । श्रम तथा रोजगार मन्त्रालयको परिपत्रअनुसार उक्त सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत धुब्र प्रसाद नेपालले जानकारी दिए ।
वैदेशिक रोजगारीको शिलशिलामा टाढाटाढा गएर श्रमस्वीकृती लिनुपर्ने रहेकोमा अब स्थानीय स्तरमै सेवा पाएपछि सेवाग्राहीले राहात महसुस गर्ने उनले बताए । उक्त सेवा प्राप्त गर्ने पहिले सेवाग्राही बुद्धभूमि नगरपालिका- १ का रोहित विक्रम जि.सी.ले लिए भने दोस्रो सेवाग्राहीका रुपमा बुद्धभूमि नगरपालिका- ३ का दान बहादुर गेलेङले सेवा लिए ।
जिसीले दुबईका लागी पुनः श्रम स्वीकृति गराएका हुन् भने गेलेङले साउदीअरबका लागी पुनः श्रम स्वीकृति गराएका हुन् ।
श्रम स्वीकृतिको फाराम प्रमुख प्रशासकीय अधिकृत धुब्र प्रसाद नेपालले हस्ताक्षरण गरेका थिए ।