काठमाडौं ।
नेपाली कांग्रेसकी सांसद रूपा विश्वकर्माले निति तथा कार्यक्रमले संविधानमा स्थापित दलित समुदाय सम्बन्धि व्यवस्थालाई सम्बोधन गर्न नसकेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेकी छिन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले संविधानमा शिक्षा, स्वास्थ्य, सशक्तिकरण, राजनितिक प्रतिनिधि, सामाजिक सुरक्षा आदि क्षेत्रमा दलितको लागी विशेष व्यवस्था गरिने भनिएता पनि निति तथा कार्यक्रमले ति व्यवस्थालाई समेटन नसकेको बताईन् ।
उनले आगामी आर्थिक बर्षको बजेटमार्फत ति व्यवस्थालाई समेटन माग समेत गरिन् । ‘नेपालको संविधानले दलित समुदायमाथि हुने जातीय विभेद, छुवाछुत कानुनी रुपमा अन्त्य भएको र यो दण्डनीय अपराध भनेको छ,’ उनले भनिन्, ‘संविधानको धारा ४० मा दलितको लागी विशेष व्यवस्था हुने भनिएको छ । तर निति तथा कार्यक्रमले कही पनि सम्बोधन गरेको छैन् । बजेट मार्फत सम्बोधन गरियोस् ।’
उनले निति तथा कार्यक्रम केही मात्रामा आवश्यकतामा आधारित र यथार्थपरक भएको बताउँदै अझै थप गर्नुपर्ने देखिएको बताईन् ।