बुटवल ।
संघीय सरकारबाट वित्तीय हस्तान्तरणको आकार घट्ने क्रमसँगै लुम्बिनी प्रदेश सरकारको बजेट घट्ने भएको छ । लुम्बिनी सरकारले चालू आवमा ४२ अर्ब ६३ करोडको बजेट ल्याएको थियो । तर, आगामी आव २०८०/८१ मा २० प्रतिशत कटौती गर्ने तयारी गरेको छ ।
नवनियुक्त आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीका अनुसार प्रदेश योजना आयोगले पठाएको सिलिङभित्र योजना छनोट गर्न मन्त्रालयहरूलाई भनिएको छ ।
यस सम्बन्धमा आर्थिक मामिला मन्त्रालयले मन्त्रालयगत र सांसदहरूसँग पनि छलफल गरेको छ । १२ जेठमा बजेट अधिवेशन आह्वान भएको छ । लगत्तै प्रि बजेट छलफल हुने र त्यसपछि नीति तथा कार्यक्रम ल्याइने मन्त्री मास्कीले बताए ।
आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार स्रोत अनुगमन समितिको बैठकले चालू आवभन्दा २० प्रतिशत कम हुने गरी सिलिङ मन्त्रालयमा पठाइएकोले सोहीअनुसार योजना छनोट हुनेछ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले बजेट आकार घटाएर सिलिङ पेश गर्न आग्रह गरेपछि हालका चालु योजनालाई निरन्तरता दिने, केही क्रमगत योजनाहरू जिल्लाबाट आउनेलाई समेट्ने तयारी भएको बताए । उनले पुल र सडक जस्ता कामलाई निरन्तरता दिन थप बजेट चाहिने बेला बजेट कम गराउँदा समस्या हुने बताए ।