काठमाडौँ ।
टिकटकले आफ्ना प्रयोगकर्तालाई कन्टेन्ट र भिडियो खोज्न सघाउने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित आफ्नै च्याटबट ल्याउने तयारी गरेको छ ।
कम्पनीले बिहीबार दिएको जानकारीअनुसार फिलिपिन्समा परीक्षण शुरू गरिएको च्याटजीपीटीजस्तै उक्त च्याटबटको नाम ‘टाको’ रहने छ । अन्य धेरै प्रविधि कम्पनीहरूलेजस्तै जेनेरेटिभ एआईलाई आफ्नो प्लाटफर्मको हिस्सा बनाउने पहलमा रहेको टिकटकले जनाएको छ ।
टिकटकको प्रतिस्पर्धी प्लाटफर्म स्न्यापले यसअघि नै ओपनएआईसँगको सहकार्यमा ‘माई एआई’ नामको च्याटबट सुविधा अघि सारेपछि दबाबमा रहेको वाइटडान्स (टिकटकको स्वामित्व भएको कम्पनी) ले फिलिपिन्सका केही प्रयोगकर्ताहरूमा यो परीक्षण गरेको अनुमान गरिएको छ ।
गत महिना अमेरिकाको प्याटेन्ट एन्ड ट्रेडमार्क अफिसमा टिकटक टाकोलाई ‘टेक्स्ट र आवाजको सहायताले कन्टेन्ट खोज्न सक्ने सफ्टवेयर’ भनेर निवेदन दिएपछि नै वाइटडान्सको जेनेरेटिभ एआई प्लाटफर्मबारे चर्चा सुरू भएको थियो ।








