भैरहवा ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिको करिव साढे २ अर्ब रुपैयाँको लगानीमा भैरहवामा निर्माण भएको ‘सिद्धार्थ विलासा’ पाँचतारे होटेल सञ्चालनमा आएको छ । होटेल परिसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कम्पनी अध्यक्ष चिन्तामणि न्यौपानेले सिद्धार्थ बिजनेश ग्रुपको २५ वर्षे व्यवसायिक यात्राका क्रममा मुलुकका विभिन्न स्थानमा ३२ वटा आतिथ्यता सेवालाई निरन्तरता दिँदै भैरहवामा पाँच तारे होटल सञ्चालन गर्न सफल भएको बताए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलोमिटर र सिद्धार्थ राजमार्गबाट करिब २ सय मिटरभित्र अवस्थित सिद्धार्थ विलासा होटेल करिव ४ बिघा क्षेत्रफलमा फैलिएको छ । २०७६ वैशाखमा निर्माण सुरु गरिएको यस होटलको औपचारिक उद्घाटन भने असोजमा गर्ने तयारी छ ।
‘होटल सञ्चालनबाट स्वदेशी र विदेशी अतिथिको सेवा सत्कार गर्दै देशको पर्यटन तथा आतिथ्य सेवामा टेवा पुर्याउन सक्ने विश्वास लिएका छौं’ न्यौपानेले भने, ‘होटल व्यवसायलाई थप गुणस्तरीय बनाउन सिद्धार्थ ग्रुपले मुलुकका अन्य स्थानमा पनि सेवा सञ्चालनको तयारी गरिरहेको छ ।’
होटलका रुमलाई डिलक्स, एक्ज्युकेटिभ स्विट, स्विट र प्रेन्सिडेन्टल स्विट गरी चार स्तरमा वर्गीकरण गरिएको छ ।
कुल ८५ वठा कोठा, लबी लौन्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट, स्विमिङ पुल, फिटनेस, जिमहल, स्पा, साउना र ज्याकुजी सहितको हेल्थ क्लव, लङ टेनिस कोर्ट, गार्डेन, पार्किङस्थल, ३ वटा ठूला सेमिनार हल, मिटिङ हल र क्यासिनो सञ्चालन समेत हुने सिद्धार्थ ग्रुपका सचिव महेन्द्र न्यौपानेले बताए । होटलमा प्रत्यक्ष ३ सय जनाले रोजगारी पाउने उनको भनाइ छ ।








