सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ९ ले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्ग, जेहेन्दार, दलित तथा विपन्न बालबालिका गरि ६० जनालाई शैक्षिक सामग्री वितरण गरिएको वडा सचिव पार्वता पन्थीले जानकारी दिईन् ।

वडा सचिव पन्थीले वडाको सामाजिक विकास तर्फको कार्यक्रम अन्तर्गत विद्यार्थीलाई झोला, कापी र कलम वितरण गरिएको बताईन् ।
वडाध्यक्ष प्रमोद आचार्यले शिक्षामा सबैको सरल र सहज पहुँच होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । वडाध्यक्ष आचार्यले समाजका हरेक वर्गको शिक्षामा उल्लेख्य सहभागिता बढाउन आवश्यक रहेको बताए । शिक्षा आर्जन गर्ने क्रममा आईपर्ने विविध समस्याको निराकरण गर्न वडा प्रतिवद्ध रहेको उनको भनाई छ ।
उनले शिक्षा क्षेत्रमा राज्यले बर्षेनी अरबौं लगानी गरेको तर सोही अनुसार परिणाम हात नपरेको भन्दै चिन्ता व्यक्त गरे । उनले राज्यको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको समेत बताए ।
बुद्धभूमि नगरपालिकाका विद्यालयहरुमा पनि लगानी अनुसारको प्रतिफल आउन नसकेको बताउँदै उनले वडा नम्बर ९ भित्रका विद्यालयमा सुधारको थालनी गरिसकेको दाबी गरे । शिक्षा क्षेत्रलाई वडाले प्राथमिकता साथ हेरेको बताउँदै उनले भने, ‘आगामी दिनमा शैक्षिक सुधारका कार्यक्रम ल्याएर प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँछु ।’
शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरुले खुशी व्यक्त गर्दै अब थप उत्साहका साथ अध्ययन गर्ने बताएका छन् । वडाले हरेक बर्ष विधार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्नुपर्ने उनीहरुको भनाई छ ।








