सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोम बहादुर थापा क्षेत्रीले वडावासीको सेवक भएर काम गर्न आफु जनप्रतिनिधि भएको बताएका छन् । जनप्रतिनिधि शासक नभएर सेवक बन्नुपर्ने बताउँदै उनले यस्तो बताएका हुन् । वडाध्यक्ष थापाले वडाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले वडावासीको सेवामा आफु २४ घण्टा नै खटिने उद्घोष गरे । उनले आफ्नो कार्यकालमा वडावासीलाई विकासको अनुभूति दिलाउने दाबी गरे । आफु वडाध्यक्षमा निर्वाचित हुन भन्दा अगाडिको अवस्था र वर्तमान अवस्थामा निकै सकारात्मक परिवर्तन देखिएको उनको भनाई छ । वडाबाट प्रवाह हुने सेवा सुविधालाई चुस्तदुरुस्त बनाउन वडा प्रतिवद्ध रहेको उनले बताए । निःशुल्क एम्बुलेन्स सेवा संचालनदेखि विपन्न वर्ग तथा जेष्ठ नागरिक, विधार्थी, शिक्षक लागी वडाले महत्वपुर्ण काम गरेको उनले बताए ।
सामाजिक विकासतर्फका २६ वटा योजनामध्ये २४ वटा सम्पन्न गरिसकिएको र सरकारले बजेट कटौती गर्दा अन्य बाँकी सम्पन्न हुन नसक्ने सम्भावना बढेको बताए । वडास्तरमा रहेका १२ वटा योजना ११ वटा सम्पन्न भईसकेको र एउटा कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । विद्यालयलाई वडाले प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘विद्यालयले पनि वडाको अपेक्षाअनुसार परिणाममुखी काम गरेर देखाउनुपर्छ । के समस्या छ ? जानकारी दिनु, समाधान गर्न वडा तयार छ ।’
उनले आफ्नो ५ बर्षे कार्यकालमा वडाका सबै वर्गलाई समेट्ने गर्ने गरि योजना निर्माण गर्ने जिकीर गरे ।








