सागर वि.क., वैखरी अनलाईन ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तुवासीले गर्व गर्न लायक काम गर्ने बताएका छन् । विगतका मन्त्रीहरुले आफ्नो क्षेत्रलाई मात्र प्राथमिकता दिएर काम गर्ने परिपाटीलाई अवलम्बन बसालेको बताउँदै उनले भने, ‘नेपाली कांग्रेस कपिलवस्तुका कार्यकर्तासंगै समग्र कपिलवस्तुवासीले गर्व गर्न लायक काम गरेर देखाउँछु । त्यही अनुसार नै अघि बढेको छु ।’
उनले कपिलवस्तुमा करिब १० अर्बको योजनाहरु भित्राउन सके यस क्षेत्रका नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन हुने बताए ।
मानव विकास सुचाङ्कमा पछाडी रहेको कपिलवस्तु जिल्लामा राज्यको ध्यान नसकेको उनले स्वीकार गरे ।
उनले आफुले समालेको मन्त्रालयमार्फत शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी जस्ता धेरै क्षेत्रमा काम गर्न सकिने बताए । मन्त्री आचार्यले महिलाहरुलाई रोजगारीको सिर्जना गरि आयआर्जनको बाटो खुल्नुपर्ने आवश्यकता रहेको बताए ।
फरक प्रसङ्गमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी बर्खाको भेल जस्तै भएको टिप्पणी गरे । ‘कांग्रेस, एमाले जस्ता पार्टीले जनभावनाअनुसार काम नगर्दा रास्वपाले फाईदा लिएको होे । यीहरुले राम्रो काम गर्दिए यस्ता पार्टी हराएर जान्छन्,’ उनले भने, ‘बर्षायामको भेलमा गाउँघरका कुलाहरु पनि खोला जस्तै देखिन्छन्, तर पछि फेरि कुलाकै साईजमा आउँछन् ।’
रास्वपामा परिपक्क नेताहरु नभएको बताउँदै उनले उक्त पार्टी दिगो पार्टीका रुपमा स्थापित हुन नसक्ने समेत दाबी गरे ।