पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानको ढिकुलडाँडा तल्लो भेगमा आइतबार बिहानदेखि भीषण डढेलो लागेको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
तर अपराह्न ४ बजेसम्म तीनमध्ये दुई वटा बस्तीमा डढेलो सर्ने जोखिम टरेको छ । एउटा बस्ती अझै डढेलोको जोखिममा रहेको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले बताए ।
भैरवस्थानको ढेकुलडाँडा मुहाझिर सामुदायिक वन क्षेत्रमा आइतबार बिहानदेखि लागेको डढेलो बस्ती नजिकै आएपछि प्रहरी, प्रशासनमा जानकारी दिएको स्थानीय यमबहादुर कार्कीले बताए । उनका अनुसार ढेकुलडाँडा र मुहाझिर बस्तीको जोखिम हटे पनि ओखलढुंगा टोलमा अझै जोखिम रहेको छ ।
स्थानीय बासिन्दाले कोदाली, बेल्चा, स्याउला लिएर निभाउने प्रयास गरिरहेको उनले बताए । जंगलको बाहिरी क्षेत्रमा लक्ष्मण रेखा बनाएर डढेलो माथिल्लो बस्तीमा फैलिन नदिने प्रयास गरिएको स्थानीय कार्कीले बताए ।