मे महिनाको एक तारेखमा दुर्घटनामा परेको विमानको उद्दारका लागि सुरक्षाकर्मीसहित ठूलो समूह परिचालन गरिएको थियो । राष्ट्रपति पेट्रोले अमेजन जंगलबाट चार बालबालिकाको जीवितै उद्दार हुनुलाई जादुमयी घटना भनी टिप्पणी गरेका छन् । उनले उद्दारको बेलाको एक तस्वीर सेयर गरेका छन् । जसमा सुरक्षाकर्मी र स्थानीय आदिवासी समुदायले फेला परेका बालबालिकाको स्याहार सुसार गरेको देखिन्छ ।
एक जना उद्दारकर्ताले उद्दार गरिएकामध्ये सानो बच्चालाई बोतलमार्फत केही खुवाइरहेका छन् भने अर्का उद्दारकर्ताले अर्को बच्चालाई चम्चाले केही खुवाइरहेका छन् ।
कोलम्बियाको रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडियोमा जंगलबाट हेलिकप्टरमार्फत बालबालिकाको उद्दार गरेको देखाइएको छ । ती बालबालिकालाई राजधानी बोगटा ल्याइएको छ र एम्बुलेन्समार्फत थप उपचारका लागि अस्पताल लगिएको छ ।
उक्त विमान बालबालिका र उनीहरुका आमालाई लिएर अमेजन प्रदेशको अराराक्वारातर्फ जाँदै थियो । विहान दुर्घटनापछि दुई पाइलट र बालबालिकाका आमाको शव भेटिएको थियो ।