वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले समाज रुपान्तरणका लागी तालिम आवश्यक रहेको बताएका छन् । दैनिक जीवनमा हासिल गरेका सिपलाई व्यवहारमा उतार्न गर्न आग्रह गर्दै उनले यस्तो बताएका हुन् । शनिबार वैखरी मिडिया प्रा.लि.को आयोजना र बुद्धभूमि नगरपालिकाको सहकार्यमा सुरु भएको ५ दिने उद्घोषण तथा नेतृत्व विकास तालिमको उद्घाटन सत्रमा बोल्दै मेयर श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले युवायुवती तथा किशोर किशोरीको क्षमता अभिवृद्धिका लागी नगरपालिकाले बर्षेनी विभिन्न तालिमहरु संचालन गरेको बताए । यस्ता तालिमबाट नगरले सकारात्मक प्रतिफल हासिल होस् भन्ने चाहेको उनको भनाई छ ।
उनले समाजका हरेक क्षेत्रमा युवा वर्ग नेतृत्व लिन अग्रसर हुनुपर्ने बताए । त्यसका लागी सोेही अनुसार आफुलाई सक्षम बनाउँदै लैजान आवश्यक रहेको बताउँदै उनले भने, ‘हामीले सुरुमै सबै कुराहरु जानेका हुदैनौं, क्रमश सिक्दै जाने हो । त्यसका लागी तपाईले तत्परता, जोस, जागर देखाउनुपर्छ ।’
उनले व्यक्तिको बोलाईबाट नै हरेक मानिस प्रभावित हुने भएकाले बाल्ने कलालाई पोख्त बनाउँदै लैजानुपर्ने बताए । उनले तालिममा सिकेका ज्ञान, सिपलाई दैनिक व्यवहारमा कार्यान्वयन गर्न आग्रह समेत गरे ।