काठमाडौं ।
पोल्याण्डकी इगा स्वाएटेकले पेरिसको ‘क्ले कार्ट’मा आफ्नो प्रभुत्व कायम राख्दै शनिबार राति फ्रेन्च ओपनको उपाधि जितेको छ ।
विश्व नम्बर एक स्वाएटेकले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई २–१ ले हराउँदै उपाधि जितेकी हुन् । उनले पछिल्लो चार वर्षमा तेस्रो पटक उपाधि जितेकी हुन् ।
रोमाञ्चक फाइनलमा खेलमा २२ वर्षीया स्वाएटेकले मुचोभालाई ६–२, ५–७, ६–४ को स्कोरमा हराएकी हुन् । स्वाएटेकको समग्रमा यो चौथो ग्रान्डस्लाम उपाधि हो । फ्रेन्च ओपनबाहेक स्वाएटेकले गत यूएस ओपनको उपाधि जितेकी थिइन् ।
गतवर्ष अप्रिलमा विश्व नम्बर एक बनेपछि स्विटेकले २६ ग्रान्डस्लाम खेलमध्ये दुई मात्रै हारेकीछिन् । गएरातिको जितसँगै फ्रेन्च ओपनमा स्वाएटेक सन् १९९०–९२ मा मोनिका सेलेसपछि लगातार उपाधि जित्ने सबैभन्दा कान्छी महिला खेलाडी बनेकी छिन् ।
“सबैभन्दा पहिले क्यारोलिना मुचोभालाई बधाई छ,” स्वाएटेकले भनिन् । स्वाएटेक २००७ मा जस्टिन हेनिन पछि फ्रेन्च ओपनको उपाधि रक्षा गर्ने पहिलो महिला खेलाडी बनेकी छिन् ।








