कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवास्थित बसपार्कमा प्रहरी बिट स्थापना गरिएको छ । प्रहरीको कार्ययोजना अनुसार महिला प्रहरी सहीतको प्रहरीको सुरक्षा बिट सुभारम्भ गरिएको हो । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र प्रजिअ शंकरहरि आचार्यले संयुक्तरुपमा रिबन काटेर बिटको उदघाटन गरे । बिटकालागि नगरपालिकाले बस पार्कमा रहेको २ वटा सटरहरु प्रहरीलाई दिएको छ ।
सो अवसरमा मेयर पौडेलले बस पार्कमा बिट स्थापना महत्वपुर्ण काम भएको भन्दै बिट स्थापना भए पछि भिडभाड हुने बस पार्क र यात्रुहरुको सुरक्षाको मद्दत मिल्ने बताए । उनले अब बसमा पार्कमा अपराधिक घटनाहरुमा कमी आउने र यात्रुहरुले शान्ति सुरक्षाको महसुस गनेृ बताए । नगरपालिकाको जगदीशपुर ताल क्षेत्र , दोहनी र बस पार्क गरी ३ ठाउमा प्रहरी बिट स्थापना हुनुले पनि नगर क्षेत्रको सुरक्षा थप बलियो हुने बताए । उनले बस ब्यवसायीहरुलाई तौलिहवा बजार क्षेत्रमा तीब्र गतिमा गाडी नचलाउन आग्रह गरे ।
सो अवसरमा प्रजिअ आचार्यले प्रहरी बिटले यात्रुहरुले बिभिन्न गुनासोहरु समाधान हुने र झै झगडामा मसते कमी आउने बताए । उनले यात्रुहरुको सुबिधाको ख्याल गर्न प्रहरी र यातायात ब्यवसायीलाई आग्रह गरे ।
प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले ब्यस्त ठाउमा प्रहरी राख्ने योजना अनुरुप प्रहरी बिट स्थापना गरिएको बताए । यसले शान्ति सुरक्षा र अमनचयन ल्याउने उनले दाबी गरे । कार्यक्रम सामुदायिक सेवा केन्द्रको अध्यक्षता र प्रहरी निरिक्षक रेशम पौडेलको अध्यक्षतामा भएको थियो ।